काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम विद्युतीय ब्रान्ड नेभोको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल नेभो क्यू०५’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आइतबार एक कार्यक्रम आयोजना गरी नेभो क्यू०५ सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो।
कम्पनीले नेभो क्यू०५ लाई ‘ए क्लास एबोभ’ नाराका साथ नेपाली बजारमा ल्याएको हो। यो एसयूभी म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। नाडा अटो शो अवधिसम्म म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्राको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोपछि भने यी भेरियन्टको मूल्य क्रमशः ४८ लाख ९९ हजार र ५१ लाख ९९ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेभो क्यू०५ मार्फत कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए।
उनका अनुसार कम्पनीले ग्राहक सेवाका लागि ७ करोड रुपैयाँभन्दा बढी मूल्यका स्पेयर पार्ट्स स्टकमा राखेको छ भने २४ घण्टा सञ्चालन हुने हेल्पलाइनको व्यवस्था गरेको छ।
नेभो क्यू०५ मा १२० किलोवाट क्षमताको विद्युतीय मोटर र ५२ किलोवाट आवरको ‘गोल्डेन शिल्ड २.०’ ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ।

इटालीमा आयोजित ‘ए–डिजाइन अवार्ड’मा गोल्ड मेडल जितेको डिजाइनमा आधारित नेभो क्यू०५ को बाहिरी तथा भित्री डिजाइनलाई आकर्षक र प्रिमियम बनाइएको कम्पनीको दाबी छ। ‘क्लाउड्स एन्ड सोफिया’ अवधारणामा आधारित यसको डिजाइनले आधुनिकता र आरामलाई प्राथमिकता दिएको छ।
२.७३ मिटर ह्विलबेस र ४.५४ मिटर लम्बाइ रहेको एसयूभीको क्याबिनमा पर्याप्त स्थान उपलब्ध रहेको कम्पनीले जनाएको छ। सिटमा नौ तहको कुशन प्रयोग गरिएको छ भने क्याबिनको करिब ८० प्रतिशत भागमा सफ्ट–टच सामग्री प्रयोग गरिएको छ। त्यस्तै, ६७ स्थानमा साउन्ड इन्सुलेसन गरिएकाले यात्राका क्रममा बाहिरी आवाज कम हुने दाबी गरिएको छ।
सुरक्षाका लागि नेभो क्यू०५ मा १८ वटा स्मार्ट ड्राइभिङ सिस्टम उपलब्ध छन्। ‘ट्रान्सप्यारेन्ट च्यासिस’ प्रविधिमार्फत गाडीमुनिको सडकसमेत स्क्रिनमा हेर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।
गाडीको अगाडि वा पछाडि अवरोध, वस्तु वा मानिस देखिएमा स्वचालित रूपमा ब्रेक लगाउने तथा स्टेयरिङ नियन्त्रणमा सहयोग गर्ने प्रविधि पनि यसमा समावेश गरिएको छ। मोबाइल एपमार्फत गाडीको चार्जिङ अवस्था, क्याबिनको तापक्रम तथा गाडीको लोकेसनसमेत निगरानी गर्न सकिने सुविधा दिइएको छ।
ग्राहकलाई थप सुविधा दिन एमएडब्लू वृद्धिले नेभो क्यू०५ मा ५ वर्षको सवारीसाधन वारेन्टी उपलब्ध गराएको छ। त्यस्तै, ब्याट्री र ड्राइभट्रेनमा ११ वर्ष वा ३ लाख किलोमिटरमध्ये जुन पहिले पुग्छ, त्यही अवधिसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ।







