काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने कार्यक्रममा फेरबदल भएको छ । अब उनी आगामी बिहीबार, २८ साउनमा काठमाडौं फर्किने भएका छन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम तय भएको छ । कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि देउवा थाई एयरको उडानमार्फत बिहीबार दिउँसो नेपाल आउने पुष्टि गरेका छन् ।
यसअघि देउवा २६ साउन राति ९ः४५ बजे काठमाडौं आइपुग्ने जानकारी दिइएको थियो । तर, रातिको समयमा विमानस्थलमा स्वागत गर्न असहज हुने भएपछि उनको आगमनको मिति र समय परिवर्तन गरिएको विश्वकर्माले बताए ।
उनका अनुसार राति काठमाडौं आउने उडान भएकाले स्वागतका लागि सहज हुने गरी दिउँसोको समय मिलाउन आग्रह गरिएको थियो । त्यसपछि देउवाको स्वदेश फर्किने कार्यक्रम दुई दिन पछाडि सारिएको हो ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि विदेशमा थिए । उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए ।
यसैबीच, कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने तयारी रहेको समूहले जनाएको छ ।
भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।






