नेरुडे मिर्मिरे लघुवित्तको १९औँ वार्षिक साधारणसभा सम्पन्न, १ः०.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको उन्नाइसौँ वार्षिक साधारणसभा भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको पूँजी सुदृढीकरण, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

कम्पनीका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन कम्पनी सचिव राजेश श्रेष्ठले गरेका थिए। कार्यक्रमको प्रारम्भमा सञ्चालक सन्जु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिमा शेयरधनी, कर्मचारी, ग्राहक तथा सरोकारवालाले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेका थिए।

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई पनि अनुमोदन गरिएको छ।

त्यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्ति भएको जानकारी सभामा गराइएको थियो भने संस्थापक समूहअन्तर्गत रिक्त रहेको एक सञ्चालक पदमा सञ्चालक समितिबाट नियुक्त सदस्यलाई साधारणसभाले अनुमोदन गरेको छ।

विशेष प्रस्तावअन्तर्गत नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि हाल कायम रहेको चुक्ता पूँजीको १ः०.२५ अनुपातमा ३४ लाख ९४ हजार ४१०.६८ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ। यसका साथै आवश्यकता अनुसार संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियामक निकायको निर्देशनबमोजिम आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

साधारणसभाले “घ” वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त संस्था छनोट गर्ने, समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गर्ने लगायतका सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिएको छ।

सभामा प्रस्तुत विवरणअनुसार हाल संस्थाको चुक्ता पूँजी रु. १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार २७२ रहेको छ। यसमध्ये ५१.४९ प्रतिशत संस्थापक तथा ४८.५१ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको जानकारी दिइएको थियो। साविक स्वेडा लघुवित्त र बुद्धज्योति लघुवित्तका संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण भएपछि शेयर स्वामित्व अनुपात ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण हुने उल्लेख गरिएको छ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका २२५ शाखा कार्यालय, पाँच प्रादेशिक कार्यालय, २५ क्लस्टर (अनुगमन इकाई), एक केन्द्रीय कार्यालय तथा एक कर्पोरेट कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको जानकारी पनि सभामा दिइयो।

कम्पनी सचिव राजेश श्रेष्ठले सभामा प्रस्तुत सबै प्रस्ताव क्रमशः पेश गरेका थिए। प्रस्तावमाथिको छलफलका क्रममा शेयरधनीहरूले पूँजी वृद्धि, डिजिटल सेवा विस्तार, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, लगानीको प्रतिफल तथा संस्थाको दीर्घकालीन रणनीतिका विषयमा आफ्ना सुझाव र जिज्ञासा राखेका थिए।

शेयरधनीका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष राज कुमार राईले संस्थालाई अझ सुदृढ, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पूँजी विस्तार, प्रभावकारी जोखिम व्यवस्थापन, सुशासनको थप सुदृढीकरण तथा आवश्यकताअनुसार सम्भावित मर्जर प्रक्रियामार्फत संस्थाको वित्तीय आधार अझ मजबुत बनाइने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाले वित्तीय समावेशीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा वित्तीय पहुँच विस्तार, महिला उद्यमशीलताको प्रवर्द्धन तथा लघुवित्त क्षेत्रको दिगो विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा प्रविधिमैत्री सेवा, नवप्रवर्तन र प्रभावकारी वित्तीय व्यवस्थापनलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
संस्थाको दीर्घकालीन विकास, वित्तीय स्थायित्व तथा शेयरधनीको हितलाई केन्द्रमा राख्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गर्दै उन्नाइसौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार