इन्जुरी समयमा क्रोएसियाले गरेको बराबरी गोलले किन मान्यता पाएन ?



काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा इन्जुरी समयमा बराबरी गोल गरेको ठानेको क्रोएसियाको खुसी भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयले क्षणभरमै निराशामा बदलियो।

अफसाइड ठहरिएपछि गोल रद्द हुँदा पोर्चुगलले २-१ को जित सुरक्षित गर्दै अन्तिम १६ मा स्थान बनायो। यो घटना इन्जुरी समयको अन्तिमतिर भएको थियो। पोर्चुगल २-१ ले अगाडि रहेको अवस्थामा क्रोएसियाका विङ्गर इभान पेरिसिचले बायाँतर्फबाट दिएको क्रस गोलक्षेत्रभित्र खेलाडीहरूबीच ठोक्किँदै अघि बढ्यो। त्यसपछि मारियो पासालिचले डिफेन्डर योस्को भार्डिओललाई पास मिलाए र उनले बललाई जाली चुमाए।

गोल भएपछि क्रोएसियाली खेलाडीहरूले उत्साहपूर्वक उत्सव मनाए। तर रेफ्रीले भिएआरमार्फत भिडियो समीक्षा गर्ने निर्णय लिए। सुरुआती क्रस दिँदा पासालिच अफसाइडमा थिएनन्। तर स्निको प्रविधिको सहायताले रेफ्रीले बल पोर्चुगलका डिफेन्डर रेनाटो भेइगाको शरीरमा लाग्नुअघि क्रोएसियाका फरवार्ड इगोर मातानोभिचले हल्का छोएको पुष्टि गरे।

मातानोभिचले बल छोएको क्षणमा पासालिच अफसाइड अवस्थामा रहेको देखिएपछि त्यसपछि भएको गोल अवैध ठहरियो। त्यससँगै रेफ्रीले तुरुन्तै गोल रद्द गरे। निर्णयपछि क्रोएसियाका खेलाडी र समर्थकहरूले कडा विरोध जनाए। तर रेफ्री आफ्नो निर्णयमा अडिग रहे।

त्यो नै क्रोएसियाले खेलमा दोस्रो गोल गर्ने सबैभन्दा ठूलो अवसर साबित भयो। अन्ततः पोर्चुगलले २-१ को अग्रता जोगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रवार