औषधि थोक व्यवसायको भविष्यबारे काठमाडौंमा संवाद, एकता र डिजिटल रूपान्तरणमा जोड



काठमाडौं, असार ३ । नेपाल औषधि व्यवसायी संघ (नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसन–एनसीडीए) काठमाडौं जिल्ला शाखाको आयोजनामा बुधबार काठमाडौंको नयाँबजारस्थित एक ब्याङ्क्वेटमा ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रम सम्पन्न भएको छ।

औषधि थोक व्यवसाय क्षेत्रमा देखिएका समसामयिक चुनौती, अवसर तथा दीर्घकालीन रणनीतिबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्षेत्रका व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनले औषधि व्यवसाय केवल आर्थिक गतिविधि मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवार क्षेत्र भएको बताए। उनले व्यवसायिक सुशासन, पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह र व्यवसायीबीचको एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। बदलिँदो बजार अवस्था र नीतिगत परिवेशअनुसार व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा कम्पनी प्रमाणीकरण, शोधभर्ना तथा क्षतिपूर्ति नियमावली, व्यवसायिक सम्झौता प्रणाली, वित्तीय तथा क्रेडिट व्यवस्थापन, नियामकीय जटिलता, बजार प्रतिस्पर्धा र औषधि वितरण प्रणालीका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या र चुनौतीहरू प्रस्तुत गर्दै औषधि आपूर्ति प्रणालीलाई थप व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाउन नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।
भेलामा सहभागीहरूको लिखित तथा मौखिक सुझाव संकलन गर्न सर्वेक्षणसमेत सञ्चालन गरिएको थियो। खुला संवाद सत्रमा उठेका सुझावहरूलाई आगामी दिनमा सम्बन्धित निकायसँगको समन्वय, नीतिगत पैरवी तथा व्यवसायिक हित संरक्षणका लागि आधार सामग्रीका रूपमा उपयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा फेवा टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन भुषालले डिजिटल रूपान्तरण र प्रविधिमैत्री व्यवसायिक अभ्याससम्बन्धी प्रस्तुति दिएका थिए। उनले वेब–आधारित प्लेटफर्म तथा मोबाइल एपमार्फत औषधि व्यवसायलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै आपूर्ति व्यवस्थापन, अभिलेख संरक्षण, डेटा विश्लेषण तथा निर्णय प्रक्रियामा डिजिटल प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताए।

वि.सं. २०३० मा स्थापना भएको नेपाल औषधि व्यवसायी संघ देशभरका औषधि आयातकर्ता, थोक तथा खुद्रा व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था हो। संघले सुरक्षित, गुणस्तरीय तथा सर्वसुलभ औषधि आपूर्तिको सुनिश्चितताका लागि व्यवसायिक सुशासन, क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बुधबार सम्पन्न कार्यक्रमलाई औषधि थोक व्यवसाय क्षेत्रको दिगो विकास, व्यवसायिक एकता तथा प्रविधिमैत्री रूपान्तरणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार