काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष कुमार पाण्डेको सभापतित्वमा जेठ २९ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीका वित्तीय, संस्थागत तथा भावी रणनीतिसम्बन्धी विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी सुझावसहित अनुमोदन गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्ताव पनि पारित गरिएको कम्पनीले जनाएको छ।
सभाको मुख्य आकर्षणका रूपमा रहेको सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गरिएको छ। उक्त निर्णयसँगै कम्पनीलाई सार्वजनिक लगानीको दायरा विस्तार गर्ने मार्ग प्रशस्त भएको छ। कम्पनीले दीर्घकालीन विकास रणनीतिअन्तर्गत पूँजी परिचालन तथा जलविद्युत् क्षेत्रमा थप लगानी विस्तार गर्न आईपीओ निष्कासनको तयारी अघि बढाउने जनाएको छ।
त्यसैगरी, साधारणसभाले पारित निर्णयहरूको कार्यान्वयनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गरेको छ। कम्पनीको प्रबन्धपत्र (एमओए) र नियमावली (एओए) संशोधन गर्ने प्रस्तावसमेत सभाबाट अनुमोदन भएको छ। कम्पनीका अनुसार संशोधित व्यवस्थाले वर्तमान व्यावसायिक आवश्यकता तथा नियामकीय प्रावधानअनुसार संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले भोजपुर जिल्लामा १४.१५ मेगावाट क्षमताको लोअर इर्खुवा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीले नवीकरणीय ऊर्जा उत्पादनमार्फत देशको ऊर्जा आत्मनिर्भरता तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित आयोजना अघि बढाइरहेको जनाएको छ।
सभामा बोल्दै कम्पनीका पदाधिकारीहरूले साधारणसभाबाट पारित निर्णयहरूले आयोजनाको निर्माण कार्यलाई थप गति दिने, पूँजी व्यवस्थापनलाई सुदृढ बनाउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए। कम्पनीले निर्धारित समयमै आयोजना सम्पन्न गरी राष्ट्रिय विद्युत् उत्पादनमा योगदान पुर्याउने प्रतिबद्धता पनि दोहोर्याएको छ।






