काठमाडौं उपत्यका मेयर्स फोरमले सरकारले आइतबार स्कूल बन्द गर्ने निर्णय गरेर स्थानीय सरकारको अधिकारमा हात हालिएको भन्दै आपत्ति जनाएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको बैठकले सरकारको यो निर्णय संविधान र शिक्षा ऐन विरुद्ध भएको ठहराउँदै सरकारसँग निर्णय फिर्ता लिन आग्रह गरेको हो।
फोरमका अध्यक्ष र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार बिदा दिएर स्कूल जाने समय घटाएर पढाई प्रभावित हुने बताएका छन्। शिक्षा ऐन अनुसार, स्कूल वर्षमा २२० दिन संचालन गर्नुपर्छ, तर नयाँ निर्णयले १९० दिन पनि स्कूल संचालन गर्न मुस्किल हुने उनको भनाइ छ।
उनले स्थानीय सरकारले बनाएको शैक्षिक क्यालेन्डरलाई बेवास्ता गर्दै सरकारले निर्णय गरेर स्थानीय सरकारको अधिकारमा हात हालिएको बताए। आवश्यक परे कानुनी प्रक्रिया अपनाउने चेतावनी पनि उनले दिएका छन्।
बैठकले स्थानीय सरकार मातहत रहेका भवन, वडा कार्यालय, अस्पताल र समाज कल्याण भवनको स्वामित्व र व्यवस्थापन स्थानीय सरकारलाई दिन सरकारसँग आग्रह गरेको छ।






