बकैयाका पाँच विद्यालयका ७४ विद्यार्थीलाई ‘कपि कलम बैंक’ले दियो शैक्षिक सामग्री



मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालन भइरहेको ‘कपि कलम बैंक’अभियानले शिक्षा क्षेत्रमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित सुरु गरिएको यो अभियान अहिले स्थानीय स्तरमा मात्र नभई सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुनाका रूपमा स्थापित हुँदै गएको छ।

शिक्षा क्षेत्रमा विभिन्न चुनौतीहरू देखिइरहेका बेला विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले पाँच वटा विद्यालयका ७४ जना विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ। कपि, कलम, सिसाकलम, इलेजर तथा कटर जस्ता आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउँदै अभियानले विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

कपि कलम बैंक अभियान अन्तर्गत बकैया–७ स्थित श्री हात्तिचरण आधारभूत विद्यालयका ११ जना विद्यार्थीलाई १६५ थान कपि, ११० पिस सिसाकलम तथा इलेजर–कटर वितरण गरिएको थियो।

त्यसैगरी श्री ज्ञानप्राप्त आधारभूत विद्यालयका १९ जना विद्यार्थीलाई २२८ थान कपि, ६० पिस सिसाकलम र ३५ पिस कलम प्रदान गरिएको छ।

श्री पशुपति आधारभूत विद्यालयका १३ जना विद्यार्थीलाई १५६ थान कपि, ४५ पिस सिसाकलम, २० पिस कलम तथा इलेजर–कटर वितरण गरिएको थियो।

श्री माटोकुरी माध्यमिक विद्यालयका १६ जना विद्यार्थीलाई १९२ थान कपि र ८० पिस कलम उपलब्ध गराइएको छ।

त्यसैगरी श्री उत्तम भावना आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई १८० थान कपि, ३० पिस कलम र ४५ पिस सिसाकलम वितरण गरिएको छ।

अभियानका संयोजक राजकुमार स्याङ्तानका अनुसार हालसम्म पाँच विद्यालयमा व्यवस्थित रूपमा शैक्षिक सामग्री वितरण सम्पन्न भइसकेको छ भने अझै तीन वटा विद्यालयमा कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको छ। आगामी दिनमा ती विद्यालयका विद्यार्थीलाई पनि आवश्यक सामग्री उपलब्ध गराइने उनले जानकारी दिए।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा लगनशील विद्यार्थीलाई लक्षित गरिएको यस अभियानले उनीहरूमा पढाइप्रति आत्मविश्वास र उत्साह थपिएको छ। साथै, शिक्षा विकासका लागि सरकारसँगै समाजका विभिन्न तह, संघसंस्था तथा व्यक्तिहरूको सहकार्य अपरिहार्य रहेको सन्देश पनि यस अभियानले दिएको छ।

देश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट प्राप्त आर्थिक तथा भौतिक सहयोगलाई पारदर्शी ढंगले सही ठाउँमा उपयोग गर्दै ‘कपि कलम बैंक’ ले सामाजिक एकता, सहकार्य र मानवीय संवेदनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

यस अभियानलाई सफल बनाउन संयोजकहरू राजकुमार स्याङ्तान, आशिष चौलागाईं र कुन्साङ स्याङ्तान सहित सम्पूर्ण सहयोगीहरूको योगदान उल्लेखनीय रहेको छ। उनीहरूको सक्रियता र समर्पणले धेरै बालबालिकाको शैक्षिक भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

शिक्षा क्षेत्रमा यस्ता मानवीय, प्रेरणादायी र परिणाममुखी अभियानहरू अझ व्यापक रूपमा विस्तार हुन आवश्यक छ। किनकि शिक्षामा गरिएको सानो सहयोगले पनि भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार