काठमाडौं । कपिलवस्तु समाजले नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदान–प्रदान, वार्षिक भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। समाजले ललितपुरको हरिहर भवनस्थित कृषि विभागको हलमा आयोजना गरेको उक्त कार्यक्रममा समाजका आजीवन सदस्य, संरक्षक, सल्लाहकार तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजका अध्यक्ष बिमल पाण्डेयको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा माननीय विजय प्रताप शाह सहभागी भएका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री दीपकुमार उपाध्यायको उपस्थिति रहेको थियो।
अध्यक्ष पाण्डेयले आफ्नो अध्यक्षीय मन्तव्यमा कपिलवस्तु जिल्लाबाट काठमाडौं उपत्यकामा बसोबास गर्ने व्यक्तिहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरूलाई सशक्त बनाउने उद्देश्यले समाज सक्रिय रहेको बताए। उनले समाजले विगतदेखि नै विभिन्न सामाजिक कार्य, सहयोग कार्यक्रम तथा सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको जानकारी दिए।
प्रमुख अतिथि अभिषेक प्रताप शाहले नयाँ वर्षले सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गर्दै यस्ता संस्थागत प्रयासहरूले सामाजिक एकता मजबुत बनाउने धारणा राखे। उनले कपिलवस्तु समाजले समुदायबीच सद्भाव र सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
त्यसैगरी पूर्वमन्त्री दीपकुमार उपाध्यायले आफ्नो मन्तव्यमा समाजको सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवामा लाग्न आग्रह गरे। उनले यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा आफ्नो पहिचान र संस्कृतिप्रति जागरूकता बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा समाजद्वारा प्रकाशित नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) को विमोचन गरिएको थियो। साथै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सहभागीहरूले आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गरेका थिए।
कपिलवस्तु समाज काठमाडौंमा बसोबास गर्ने कपिलवस्तुवासीहरूको साझा संस्था हो, जसले विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। समाजले शिक्षा, स्वास्थ्य, विपद् सहयोग लगायतका क्षेत्रमा पनि समय–समयमा योगदान दिँदै आएको छ।
कार्यक्रमको समापन उत्साहपूर्ण वातावरणमा भएको थियो भने उपस्थित सबैले आगामी दिनमा समाजका गतिविधिहरूलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।





