अभिभावकले वैशाख महिनाको पठनपाठन शुल्क तिर्न नपर्ने



काठमाडौं । निजी विद्यालयहरूले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन्। सरकारले वैशाख २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्ने निर्णय गरेपछि सोभन्दा अघिको अवधिको शुल्क लिन नपाइने स्पष्ट गरिएको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुली का अनुसार पठनपाठन नै सुरु नभएको अवस्थामा विद्यालयले शुल्क असुल्न नमिल्ने भएकाले अभिभावकहरूले वैशाख २१ अघि कुनै शुल्क तिर्नु नपर्ने बताएका छन्।

सरकारले वैशाख १५ गतेदेखि भर्ना प्रक्रिया सुरु गरी वैशाख २१ गतेदेखि मात्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि भने वैशाख १ गतेबाटै नयाँ शैक्षिक सत्र सुरु हुने र सोही अनुसार शुल्क उठाइने प्रचलन थियो।

यसपटक भने पठनपाठन नभएको अवधिमा शुल्क लिन नमिल्ने स्पष्ट पार्दै पराजुलीले भने, “यदि कुनै विद्यालयले सो अवधिको शुल्क मागेमा अभिभावकहरूले नदिनुहोला। पठनपाठन सुरु भएपछि मात्रै शुल्क लिन पाइन्छ।”

नियम विपरीत शुल्क लिने विद्यालयहरूलाई कारबाही गरिने पनि उनले चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार