काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA)को दशौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सभा होटल हिमालयमा सम्पन्न भएको हो।
संघका अध्यक्षको सभापतित्वमा सम्पन्न सभामा संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संघले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि आगामी कार्ययोजना पनि स्वीकृत गरिएको छ।
सभामा संघले नेपालमा कृषि यान्त्रिकीकरण र आधुनिकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्दै कृषि क्षेत्रको उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यवसायीकरणका लागि आधुनिक मेसिनरीको प्रयोग अपरिहार्य रहेको जनाएको छ। संघका अनुसार देशभर कृषि मेसिनरी तथा प्रविधिसँग सम्बन्धित व्यवसायलाई संगठित गर्दै नीति सुधार, व्यवसायिक क्षमता अभिवृद्धि तथा कृषकलाई आधुनिक प्रविधिसम्म पहुँच पुर्याउने काम भइरहेको छ।
कार्यक्रममा प्रस्तुत वार्षिक प्रतिवेदनमा विश्वव्यापी आर्थिक मन्दी, इन्धन तथा कच्चा पदार्थको मूल्यवृद्धि, डलरको भाउ वृद्धि तथा आयातमा आएको असरका कारण कृषि मेसिनरी व्यवसायमा चुनौती थपिएको उल्लेख गरिएको थियो। त्यसका बाबजुद कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन कृषि यान्त्रिकीकरणलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ।
संघले खेत जोत्नेदेखि धान रोपाइँ, कटाइँ, सिँचाइ तथा तरकारी खेतीसम्म आधुनिक मेसिनरीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा डिजिटल कृषि, ड्रोन, रोबोटिक तथा एआई प्रविधिको प्रयोगतर्फ अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। सभाले आगामी वर्षका लागि कृषि मेसिनरी व्यवसायलाई थप व्यवस्थित, प्रविधिमैत्री र कृषकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






