काठमाडौं । महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ।
अधिवक्ता लवन न्यौपाने ले बुधबार सर्वोच्च अदालत मा मुद्दा दायर गरेका हुन्। अदालत प्रशासनका अनुसार उक्त मुद्दाको सुनुवाइ आगामी १ चैत आइतबारका लागि तोकिएको छ।
गत ११ माघमा प्रेस चौतारी नेपाल ले आयोजना गरेको अन्तर्क्रियामा बस्नेतले दिएको अभिव्यक्ति अदालतको अवहेलना भएको भन्दै रिट दायर गरिएको हो।
रिट निवेदनमा कार्यक्रममा बस्नेतले प्रधानन्यायाधीशसहित न्यायाधीशहरू ‘लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर वा डराएर ढिला गर्ने, लोभ–प्रलोभनमा पर्ने, हस्तक्षेपका कारण दबाबमा पर्ने, फोन अफ गरेर पन्छिने’ जस्ता टिप्पणी गरेको उल्लेख गरिएको छ।
त्यस्तै उनले ‘देश वैदेशिक आक्रमणको अवस्थामा रहेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालत मात्र होइन, समग्र न्याय प्रणाली नै जलेको जस्तो अनुभूति भएको’ भन्दै दिएको अभिव्यक्तिले अदालतको प्रतिष्ठामा आँच पुर्याएको दाबी रिटमा गरिएको छ।
रिट निवेदक न्यौपानेले बस्नेतलाई अदालतको अवहेलनामा कारबाही गर्दै हदैसम्मको सजाय गरी निष्पक्ष न्यायालयको सर्वोच्चता कायम गर्न माग गरेका छन्।





