धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा मध्यराति यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खस्दा उक्त मानवीय क्षति भएको हो।
दुर्घटना राति करिब साढे १ बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली गोताखोरसहित परिचालन गरिएको थियो। साथै नेपाल प्रहरी र नेपाली सेनाका टोलीहरू पनि उद्धार कार्यमा खटिएका थिए।
जोखिमपूर्ण भू–भाग र अँध्यारोका कारण उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ। मृत्यु भएका १७ जनाको शव घटनास्थलबाट निकालिएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार





