ललितपुरमा ७१ मध्ये २३ उम्मेदवारले मात्र खोले चुनावी बैंक खाता



ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ जना उम्मेदवारमध्ये हालसम्म २३ जनाले मात्र चुनावी प्रचारप्रसार खर्चका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरकी सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी २३ जनाले आवश्यक सिफारिस लिइसकेका हुन्।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसार खर्च पारदर्शी बनाउन छुट्टाछुट्टै बैंक खाता अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

क्षेत्रगत विवरण

ललितपुर–१ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने २५ जना पुरुष र तीन जना महिला उम्मेदवार छन्।

ललितपुर–२ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये सात जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन्। यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन्।

त्यसैगरी, ललितपुर–३ मा सुरुमा २३ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २० जना उम्मेदवार कायम रहेका छन्।

निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार प्रचारप्रसार खर्च पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता सञ्चालन अनिवार्य गरिएकाले आगामी दिनमा थप उम्मेदवारले पनि सिफारिस लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार