विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ मा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा उम्मेदवार बन्ने संकेत उनले दिएका हुन् ।
रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक नेतृत्वको टोलीसँग काठमाडौँमा भएको भेटघाटमा बालेनले झापा–५ को अवस्था र राजनीतिक सम्भावनाबारे चासो राख्दै आफू त्यहीँबाट उठ्ने तयारीमा रहेको बताएका छन् । पाठकका अनुसार बालेनले उम्मेदवारी दर्ताको दिन र्यालीको तयारी गर्नसमेत आग्रह गरेका छन् ।
रास्वपाले झापा–५ मा गरेको सर्वेक्षणमा ‘घन्टी’ चुनाव चिह्नप्रति उल्लेख्य समर्थन देखिएको दाबी गरिएको छ । सर्वेक्षणअनुसार १ हजार मतदातामध्ये ५७८ जनाले घन्टीमा मतदान गर्ने इच्छा व्यक्त गरेका थिए । बालेन र रवि लामिछानेको एकतापछि पुनः सर्वेक्षण गर्ने तयारी गरिएको छ ।
ओलीको बलियो पकड मानिने क्षेत्रमा पनि बालेन वा रास्वपाका उम्मेदवारले सहज जित निकाल्न सक्ने दाबी जिल्ला समितिले गरेको छ । बालेन स्वयं उम्मेदवार बने झापा मात्र होइन, कोशी प्रदेशभर सकारात्मक प्रभाव पर्ने विश्वास रास्वपाको छ ।





