काठमाडौं । अमादब्लाम मिनी हाइड्रो लिमिटेडको तेस्रो वार्षिक साधारणसभा (एजीएम) काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार आयोजना गरिएको सभामा आर्थिक वर्ष २०८१/८२ का वित्तीय प्रतिवेदनहरू प्रस्तुत गर्दै तीमाथि छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरिएको छ।
साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारीले परियोजना कार्यान्वयनमा सहयोग पुर्याउने लगानीकर्ता, खुम्बु पासाङल्हामु गाउँपालिका, बेयुल हाइड्रो इन्भेष्टमेन्ट प्रा.लि. तथा अन्य वित्तीय तथा प्राविधिक साझेदारहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले उच्च हिमाली क्षेत्रको कठिन भौगोलिक अवस्था, जलवायु र पूर्वाधारगत चुनौतीका बाबजुद परियोजना निरन्तर अघि बढ्न सकेको उल्लेख गर्दै सबै सरोकारवालाको विश्वास र सहकार्य परियोजनाको सफलताको आधार रहेको बताउनुभयो।
कम्पनीले खुम्बु क्षेत्रका दुर्गम तथा ग्रिडबाहिरका बस्तीहरूमा स्वच्छ, भरपर्दो र दिगो विद्युत् सेवा प्रदान गर्दै आएको जनाएको छ। विद्युत् आपूर्तिसँगै परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना, वातावरणमैत्री पर्यटन प्रवर्द्धन र समुदायको जीवनस्तर उकास्न योगदान पुर्याइरहेको कम्पनीको भनाइ छ।
सभामा परियोजनाको दीर्घकालीन उद्देश्यसमेत स्पष्ट पारिएको थियो। अमादब्लाम मिनी हाइड्रो परियोजनाले स्वच्छ जलविद्युत् उत्पादनमार्फत स्थानीय आर्थिक विकासलाई टेवा पुर्याउने, ऊर्जा आत्मनिर्भरतामा योगदान गर्ने तथा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको पारिस्थितिक सन्तुलन संरक्षणमा ध्यान दिँदै अघि बढ्ने लक्ष्य लिएको जनाइएको छ।
साधारणसभाबाट पारित निर्णयहरूले कम्पनीको संस्थागत सुशासन सुदृढ गर्न, दीर्घकालीन दिगोपन सुनिश्चित गर्न र स्वच्छ ऊर्जामार्फत समावेशी विकासलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






