नेपाल ह्याचरी उद्योग संघको १९औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न



काठमाडौं । नेपाल ह्याचरी उद्योग संघको १९औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन पुस ११ गते शुक्रबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। सभामा संघका महासचिव ज्ञान बहादुर बिसुरालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमाथि सदस्यहरूबीच विस्तृत छलफल गरिएको थियो।

साधारणसभाले ह्याचरी तथा पोल्ट्री क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, रोजगारी सिर्जना र खाद्य सुरक्षामा खेलेको महत्वपूर्ण भूमिकाको समीक्षा गर्दै आगामी दिनमा यस क्षेत्रलाई थप व्यवस्थित, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा पोल्ट्री उद्योगले कृषि क्षेत्रको समग्र उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याउँदै लाखौँ नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जानकारी गराइयो।
वक्ताहरूले ह्याचरी उद्योगको दिगो विकासका लागि नीति स्थिरता, बजार व्यवस्थापन, जैविक सुरक्षा प्रणाली सुदृढीकरण तथा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेकोमा जोड दिएका थिए। विशेषगरी भारतबाट हुने अवैध रूपमा चल्ला, कुखुरा र अण्डाको आयातले स्वदेशी उत्पादनमा नकारात्मक असर पारेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ।
सभामा पोल्ट्री व्यवसायलाई व्यवस्थित गर्न आवश्यक कानुनी संरचना निर्माण, अनुगमन प्रणाली मजबुत बनाउने, उत्पादन लागत घटाउने उपाय, आधुनिक ह्याचरी प्रविधिको प्रयोग तथा बजार सन्तुलन कायम गर्ने विषयमा समेत गहन छलफल भएको थियो। साथै, संघले नेपाल उद्योग वाणिज्य महासंघ, सम्बन्धित सरकारी निकाय र अन्य सरोकारवालासँग समन्वय बढाउँदै उद्योगमैत्री वातावरण सिर्जना गर्न निरन्तर पहल गर्ने निर्णय गरेको जनाएको छ।
साधारणसभामार्फत संघले आगामी दिनमा स्वदेशी उत्पादन प्रवर्द्धन, अवैध आयातविरुद्ध अभियान सञ्चालन, सदस्यहरूको क्षमता अभिवृद्धि तथा पोल्ट्री क्षेत्रको दिगो विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारेको छ। संघले पोल्ट्री क्षेत्रलाई राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्दै खाद्य आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको पनि जनाएको छ।

नेपाल ह्याचरी उद्योग संघको नयाँ कार्यसमिति गठन

नेपाल ह्याचरी उद्योग संघको नयाँ कार्यसमिति गठन गरिएको छ। संघको अध्यक्षमा राजेन्द्र लामिछाने चयन भएका छन्। बरिष्ठ उपाध्यक्षमा डा. बलराम के.सी., प्रथम उपाध्यक्षमा बलराम  सन्जेल र द्वितीय उपाध्यक्षमा ज्ञान बहादुर बिसुराल निर्वाचित भएका छन्।

यसैगरी महासचिवमा नवराज पौड्याल, कोषाध्यक्षमा पशुराम अधिकारि चयन भएका छन् भने सचिवमा विवेक भट्ट रहेका छन्।

कार्यसमिति सदस्यहरूमा नारायण गिरी, कपिल बाबु खनाल, रिजवान अहमद, मोती प्रसाद पौड्याल, बोधराज निरौला, विष्णु प्रसाद रिमाल र हरि कृष्ण खनाल रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले ह्याचरी उद्योगको विकास र व्यवसायिक हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार