काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा लगानी गरेका साझेदारहरूबीच उत्पन्न कानुनी विवाद अन्ततः मिलापत्रमार्फत टुंगिएको छ। सहमतिअनुसार, निर्माण कम्पनी ‘थ्री प्रोडक्सन’ का साझेदार हरिप्रसाद भट्टराई कम्पनीबाट बाहिरिएका छन्।
भट्टराई बाहिरिएसँगै अब कम्पनीमा विशाल भण्डारी, सगुन पाण्डे र हिरण बस्नेत गरी तीनजना साझेदार रहेका छन्। उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत तथा कम्पनी रजिस्टारको कार्यालयमा विभिन्न समयमा दर्ता भएका १४ वटा मुद्दा मिलापत्रमार्फत समाधान गरिएको हो।
विशाल भण्डारीले दिएको जानकारीअनुसार, भट्टराईले आफूले लगानीभन्दा बढी लिएको भनिएको ९० लाख रुपैयाँ बराबरको क्यापिटल गेन ट्याक्स स्वरूप ९ लाख रुपैयाँ कम्पनी रजिस्टारको कार्यालयमा बुझाएका छन्। ‘कुनै थप लेनदेन नगरी उहाँले बढी लगेको रकमको कर तिर्नुभएको हो,’ भण्डारीले भने । उनका अनुसार भट्टराईले डेढ करोड रुपैयाँ लगानी गरी २ करोड ४० लाख रुपैयाँ निकालेका थिए।
झण्डै एक वर्षदेखि साझेदारबीच विवाद चर्किँदै आएको थियो । सहमति भएपछि भण्डारीले यसले कम्पनीको कामकाजमा नयाँ उत्साह थपिएको बताए । ‘यो झमेलाका कारण धेरै काम रोकिएका थिए। अब सबै कानुनी अड्चन हटेकाले नयाँ ऊर्जासहित पूर्ण समय दिएर अघि बढ्छौं,’ उनले भने।
उनका अनुसार, ‘कमेडी च्याम्पियन’ को चौथो सिजन आगामी बैशाखदेखि सुरु हुनेछ। साथै, फिल्म निर्माण र सिटकम सिरियल निर्माणका काम पनि पुनः अघि बढाइने तयारी गरिएको छ।





