महिनावारीमा हुने विभेद विकासको बाधक : महानिर्देशक श्रेष्ठ



काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले महिनावारीकाे समयमा कायम रहने विभेदपूर्ण व्यवहार र कुसंस्कारले महिलाको स्वास्थ्य, आत्मसम्मान र अवसर पहुँचमा नकारात्मक असर पार्ने बताएका छन्। ती व्यवहार नै देशको समग्र विकास रोकिने प्रमुख कारण बनेको उनको भनाइ छ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियानअन्तर्गत प्रदर्शन गरिएको ‘अदृश्य आँशु’ लघु चलचित्र अवलोकनपछि उनले नेपाली समाज अझै पनि साना–तिना सामाजिक मुद्दामा जकडिएको उल्लेख गरे। “हामी यस्तै साना कुरामा अल्झिरहने भएकाले ठूलो आर्थिक तथा सामाजिक विकासमा ध्यान दिन सकेका छैनौं,” श्रेष्ठले भने।

महिनावारीका बेला महिलाले झेल्नुपर्ने सामाजिक तथा सांस्कृतिक विभेदका विषयमा आधारित ‘अदृश्य आँशु’ को लेखन तथा निर्देशन राजु तिर्वाले गरेका हुन्। तिर्वा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञका रूपमा कार्यरत छन्।

महानिर्देशक श्रेष्ठका अनुसार यस्ता भेदभावपूर्ण सामाजिक व्यवहारका कारण विकास साझेदार र दातृ राष्ट्रहरू पनि आफ्नो कार्यक्रम सामाजिक मुद्दामै केन्द्रित गर्न बाध्य भइरहेका छन्। “हामीले मूल विकासका विषय अघि बढाउन सक्ने वातावरण बनाएको भए दातृ निकायको प्राथमिकता पनि त्यतै केन्द्रित हुनेथियो,” उनले टिप्पणी गरे।

महिनावारीलाई लाज, त्रास र निषेधको दृष्टिले हेर्ने प्रवृत्तिले महिलालाई विद्यालय, कार्यस्थल र नेतृत्व तहमा अवसरबाट वञ्चित बनाउने, आत्मविश्वास कमजोर पार्ने र स्वास्थ्य जोखिम बढाउने उनको भनाइ छ। “महिनावारी प्राकृतिक प्रक्रिया हो। यसलाई सम्मानपूर्वक स्वीकार नगरेसम्म लैंगिक समानता सम्भव हुँदैन,” उनले जोड दिए।

कार्यक्रममा महिनावारीका बेला देखिने छुवाछुतजन्य व्यवहार, त्यसले पार्ने मानसिक तथा शारीरिक असर र बिना विभेद सम्मानजनक जीवन सुनिश्चित गर्न विभिन्न निकायहरूको भूमिकाबारे प्यानल छलफल समेत गरिएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बुधवार