जेनजी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख रहेका अधिकारी डीआईजी बढुवामा छुटे



काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी विश्व अधिकारी डीआईजी बढुवाको सिफारिस सूचीमा परेनन्। गृह मन्त्रालयले आज सार्वजनिक गरेको एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस सूचीमा अधिकारी छुटेका हुन्।

बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारी बाहेक भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले गरी पाँच जनाको नाम डीआईजी सिफारिस सूचीमा समावेश गरिएको छ।

गृह मन्त्रालयका एक उच्च स्रोतका अनुसार, जेनजी आन्दोलनका घटनासँग सम्बन्धित छानबिन प्रक्रिया जारी भएकाले अधिकारीको बढुवा सिफारिस हालका लागि रोकिएको हो। उक्त आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको थियो। त्यसपछि काठमाडौं प्रहरी प्रमुखसहित सम्पूर्ण टिमलाई फिर्ता बोलाइएको थियो।

सरकारले घटनाको छानबिनका लागि सर्वोच्च अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ। कार्कीको नेतृत्वमा बनेको उक्त आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरिएको छ।

यसअघि २०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा परेका थिए। २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षकका रूपमा सेवा प्रवेश गरेका उनले २०५६ सालमा प्रहरी निरीक्षकमा नाम निकालेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार