काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएसँगै सङ्कलन गरिएको हस्ताक्षर बुधबार कार्यवाहक सभापतिलाई बुझाइने भएको छ।
मङ्गलबार हस्ताक्षर बुझाउने उद्देश्यले सानेपास्थित पार्टी कार्यालय पुगेका नेता तथा कार्यकर्तालाई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले रोक्दै कार्यक्रम बुधबार सार्न आग्रह गरेका थिए। हस्ताक्षर बुझाउन पुगेकाहरूले तत्कालै बुझाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए।
महामन्त्री थापाले मङ्गलबारको केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेको र महाधिवेशन समयमै गरिने आश्वासन दिएको बताए। उनले सभापति देउवाको अन्तिम उपस्थितिको सम्मानस्वरूप हस्ताक्षर बुझाउने कार्यक्रम बुधबारका लागि सारिएको जानकारी दिए।
थापाका अनुसार बुधबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा नेता तथा कार्यकर्तालाई स्वागत गरी हस्ताक्षर कार्यवाहक सभापतिलाई आधिकारिक रूपमा बुझाइनेछ।
विशेष महाधिवेशनको माग गर्दै पार्टीका केही नेता–कार्यकर्ताले व्यापक रूपमा हस्ताक्षर सङ्कलन गरेका छन्। उनका अनुसार पार्टीका ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा समर्थन जनाएका छन्।





