मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा काभ्रे–२(ख)का सांसद तथा प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे नियुक्त भएका छन्। मुख्यमन्त्री एवम् दल नेता इन्द्रबहादुर बानियाँले दलको विधानको दफा ११(१) अनुसार उनलाई जिम्मेवारी दिएका हुन्।
त्यसैगरी दलको सदस्य सचिवमा ललितपुर–२(क)का सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई नियुक्त गरिएको छ। यो नियुक्ति विधानको दफा १०(८) अनुसार गरिएको हो।
गत साउन १४ मा दल नेताको निर्वाचनमा ३७ मध्ये २२ मत ल्याएर बानियाँ विजयी भएका थिए। त्यसयता रिक्त रहेको मुख्य सचेतक र सदस्य सचिवको पद आज भरिएको हो।
मुख्यमन्त्री बानियाँले उपनेता र कोषाध्यक्ष भने अझै नियुक्त गरेका छैनन्। उनले विधानको दफा ९(२)(ख) बमोजिम दलको कार्यसमिति गठन पनि गरेका छन्। बानियाँ गत साउन २० मा मुख्यमन्त्री बनेका हुन् र अब चाँडै विश्वासको मत लिने तयारीमा छन्।





