नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँले २२ मत प्राप्त गरी विजयी भएसँगै नयाँ मुख्यमन्त्रीको रुपमा समेत उनलाई हेरिएको छ ।
बानियाँ प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर–२ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए। २०७० सालमा कम्युनिस्टहरूको बलियो क्षेत्र मानिने मकवानपुर–१ बाट संविधानसभा सदस्यमा विजयी भई इतिहास बनाएका बानियाँ २०६४ सालको संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए।
२०२७ साल भदौमा मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा जन्मिएका बानियाँले २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए। त्यसयता नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै कांग्रेसको जिल्ला र प्रदेश नेतृत्वमा रहेर निरन्तर सक्रिय रहँदै आएका छन्।
उनले २०७३ चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा विजय हासिल गरेका थिए। त्यसपछि उनी २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत बने। पछिल्लो पटक २०७८ मंसिरमा कांग्रेस बागमती प्रदेशको सभापतिमा निर्वाचित भएका थिए।
गत साउन ९ गते बानियाँ पक्षका २१ सांसदहरूले मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्र परेपछि उनी बहुमत गुमाएका थिए। त्यसकै फलस्वरूप आज नयाँ नेता चयनका लागि निर्वाचन भएको हो।
यो कार्यकालमै बानियाँ र लामाबीच दोस्रोपटक संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको हो। २०७९ पुसमा भएको अघिल्लो निर्वाचनमा लामा विजयी भएका थिए, जहाँ उनले २१ मत प्राप्त गर्दा बानियाँ १६ मतमा सीमित भएका थिए।
बानियाँको विजयसँगै कांग्रेस बागमती प्रदेशमा नयाँ राजनीतिक मोड आएको छ। प्रमुख प्रतिद्वन्द्वी लामाको मुख्यमन्त्री पद थप संकटमा परेको छ भने दलभित्रको नेतृत्व परिवर्तनसँगै सत्ता समीकरणमा पनि असर पर्न सक्ने अनुमान गरिएको छ।





