बागमती प्रदेशको बजेट बहुमतले पारित



मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो ।

गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले प्रस्तुत गरेको बजेट माथि असार १२ गतेदेखि छलफल गर्ने कार्यसूची तय रहेको थियो ।

बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदा बजेट माथिको छलफल असार २० गतेबाट सुरु भएको थियो । बजेट विवादका कारण पटक पटक प्रदेशसभा बैठक स्थगित भएपछि दलहरू बिच बजेट माथिको छलफल थाल्न ८ बुँदे सहमति सहित बजेटको पुरक प्रस्ताव समेत ल्याउनु परेको थियो ।

पुरक प्रस्ताव संसदमा दर्ता भएपछि भने बजेट माथिको छलफल निरन्तर चलाइएको थियो ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार