शुद्धीकरण मापदण्ड लत्याउँदै महासंघ, बागमतीका उपाध्यक्ष पत्रकार महासंघको सदस्य



नेपाल पत्रकार महासंघले २०८१ मङ्सिर १८ गते सार्वजनिक गरेको मतदाता नामावली (सदस्य विवरण)मा जनप्रतिनिधिको नाम समेत राखेको पाइएकाे छ । महासंघले सदस्यता शुद्धीकरण गर्ने भन्दै बनाएकाे मापदण्डको धज्जी उडाउँदै १८ गते सार्वजनिक गरेको मतदाता नामावलीमा जनप्रतिनीधिको नाम पाइएको हो ।

उपत्यका प्रदेश अन्तर्गत ललितपुरबाट काठमाडौंमा स्थानान्तरण गरिएका भक्त बहादुर दर्लामी जनप्रतिनिधि हुन् । दर्लामी ललितपुरको बागमती गाउँपालिकाका उपाध्यक्ष हुन् । दर्लामीको नाम ललितपुरमा राख्दा विवाद आउनेभएपछि प्रेस सेन्टरका केही नेताको मिलेमतोमा काठमाडौंमा स्थानान्तरण गरिएको पाइएको छ ।

नेपाल महासंघको २०७९ पुस ८–९ गते सुर्खेतमा सम्पन्न साधारण सभाले “नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड” तर्जुमा गरेको थियो । जुन मापदण्डमा पत्रकारको सदस्यता शुद्धीकरणका १५ ओटा बुँदा छन् ।

देशैभरीका पत्रकारका प्रतिनिधिले साधारणसभामा शुद्धीकरणको आवाज उठाएपछि नयाँ सदस्यता र सदस्यता नवीकरणको विषयमा उक्त मापदण्ड बनाइएको थियो । तर अहिले आएर मापदण्ड पत्रकारका आँखामा छारो हाल्ने काममा सीमित भएको पाइएको छ ।

मापदण्डको बुँदा नं.१० मा जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामती, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगमार्फतका सरकारी कर्मचारी, मिडिया संस्थाबाहेकका संस्थानमा कार्यरत कर्मचारी र सरकारी कार्यालयका करारका कर्मचारीको पनि सदस्यता नवीकरण नगर्ने, नयाँ सदस्यता पनि प्रदान नगर्ने भनेको छ ।

सोही बुँदामा सरकारी तथा गैरसरकारी क्षेत्र, वित्तीय (सहकारी, बैङ्क, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेसामा आबद्ध भएको वा मुख्य पेसाव्यवसाय बनाएर कहिलेकाहीँ मात्रै पत्रकारिता गर्नेको हकमा पनि सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि प्रदान नगर्ने भन्ने छ ।

यसको धज्जी उडाउँदै प्रेस सेन्टरको जोडबलमा ललितपुरमा समेत गैरपत्रकारलाई सदस्यको सूचीमा राखिएको पाइएको छ । पार्टी प्यालेस र सहकारी चलाउँदै आएका चेतनाथ बजागाईलाई समेत ललितपुरबाट सदस्यता दिइएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार