बाढीपहिरोले ठप्प रहेको कान्तिलोकपथ मंगलबारदेखि संचालनमा आएको छ । बागमती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबार बिहान १ बजेदेखि सवारी साधन संचालनमा आएको हो ।
नेपाली सेना विगत चार दिनदेखि उक्त पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । सडक मर्मतका लागि सेनाको जनशक्ति र उपकरण एवं आवश्यक सामग्री भौतिक मन्त्रालयले उपलब्ध गराएको थियो ।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कान्तिलोकपथ र बागमती पुल क्षतिग्रस्त बनाएको थियो । मकवानपुर भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका-२ बगुवास्थित बागमती खोलामा निर्माण गरिएको पक्की पुल बागमती खोलाले क्षतिग्रस्त बनाएको थियो । १२ वर्षअघि निर्माण गरिएको उक्त पुलको मकवानपुरकोतर्फको १५ दशमलब ७ मिटर स्ल्याब बगाएको थियो भने पुलसँगै जोडिएको करिब सय मिटर कालोपत्रे सडक बागमती खोलाले बगाएको थियो ।





