काठमाडौँ । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । शुक्रबार रातिदेखि निरन्तर परेको पानीको कारण आएको बाढी र पहिरोले महाङ्काल गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश केसीका अनुसार भीषण वर्षा र बाढीका कारण क्षतिको यथार्थ विवरण अझै आइसकेको छैन । टेलिफोनबाट लिइएको जानकारी अनुसार पालिकाको मुख्य बजार गोटिखेलमा ठुलो क्षति पुगेको छ ।
बाढी र पहिरोका कारण गोटिखेलमा रहेको बैतरणी धाममा समेत क्षति पुगेको छ । ‘पालिका सदरमुकाम गोटिखेल, वैतरणीधाम, एउटा निजी स्कुल सबै पुरियो र बगायो,’ अध्यक्ष केसीले भने, ‘महाङ्कालमा ३ जना बेपत्ता भएका छन् । ३ जनाको निधन भएको छ । ६ वटा घर पुरियो, ठोस्ने खोला २ मा ५० भन्दा बढी घर बगाएको छ ।’ पानी अझै निरन्तर परिरहेका कारण क्षति यकिन गर्न नसकिएको उनले बताए ।





