काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, (बुङमती) भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन् ।
उनले भनिन्, ‘हिजो बेलुकी यस विषयमा छानबिन समिति पनि बनाएका छौं, उहाँलाई तत्काललाई उपत्यका प्रहरीमै बोलाएका छौं ।’ उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।
ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ ।

नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेत दरवन्दी भई प्रहरी प्रभाग बुङमतीमा कार्यरत प्र.नि. बिनु कुमारी शाहीलाई दुईदिन अघिमात्रै जिल्ला प्रहरी परिसर ललितपुरले पेशाप्रति समर्पित रही,लगनशिल एवं निष्ठावान भई उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गरेको भन्दै सम्मानित गरेको थियो ।





