काठमाडौं । यतिबेला पधानमन्त्री ओली काठमाडौं महानगरको मेयर बालेन साह विरुद्ध निरन्तर खनिइरहेका छन । अझ भनौँ बालेन भयले प्रधानमन्त्रीलाई लखेटिरहेको छ । यसको पुष्टि वसन्तपुरमा बालेन लेखिएको टिसर्ट लगाएर पुगेका युवाहरु पक्राउको घटनाबाट पनि हुन्छ ।
वसन्तपुरमा युवाहरु पक्राउ परेको पर्सिपल्टै टुँडिखेलमा आयोजित संविधान दिवसको कार्यक्रममा समेत प्रधानमन्त्री ओलीले बालेन विरोधी भाषण गरे । लगत्तै सरकारले दरबारमार्गमा आयोजना गरेको कन्सर्टमा बालेनका समर्थक कुटिए । यसरी ओली बालेन समर्थक तर्साएर संविधान दिवसकै दिन के सन्देश दिन खोजिरहेका छन् ?
संविधानले जनतालाई विभिन्न मौलिक हकको व्यवस्था गरेको छ। मौलिक हक अन्तर्गत संविधानको धारा १७ मा स्वतन्त्रताको हक सुनिश्चित गरिएको छ । सो धाराको उपधारा १ मा ‘कानुन बमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन’ भनिएको छ ।
प्रहरी स्रोतले जनाए अनुसार बालेनका समर्थकलाई उनीहरूकै सुरक्षाका दृष्टिले वसन्तपुर क्षेत्रबाट हटाइएको हो । संविधानले दिएको अधिकार प्रयोग गर्दै भेला भएका नागरिकमाथि आइपर्ने सुरक्षा खतरा निस्तेज पार्नु राज्यको दायित्व हो कि, खतरा छ भनेर कसैलाई शान्तिपूर्ण भेला हुनबाट रोक्ने ? स्वाभाविक रूपमा प्रश्न उठेको छ ।
ती युवा काठमाडौँ महानगरका प्रमुख बालेन शाहको फोटो र नाम अङ्कित टिसर्ट लगाएर वसन्तपुर क्षेत्रमा पुगेका थिए । प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा बालेनको फोटो र नाम अङ्कित टिसर्ट लगाएकै कारण संविधान र लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने हो र ? प्रश्न विचारणीय छ ।
जबकि, संविधानको मौलिक हक अन्तर्गत नै धारा १७ को उपधारा २ को खण्ड (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख)मा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता सुनिश्चित गरिएको छ । खण्ड (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता पनि नेपाली नागरिकका लागि सुनिश्चित छ ।
संविधानले दिएका यी अधिकारका बाबजुद उनीहरूलाई किन नियन्त्रणमा लिइयो भन्नेबारे राज्यले चित्तबुझ्दो जवाफ दिएको पाइँदैन । प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा उनीहरूले विरोध जनाउने हुन् कि भन्ने आशङ्काका बिच प्रहरीले नियन्त्रणमा लिएको हुन सक्ने आकलन आम नागरिकले गरेका छन् । तर संविधानको मौलिक हकले अभिव्यक्तिको सुनिश्चितता गरेको होइन र ? त्यो स्वतन्त्रता बालेनका समर्थकलाई छैन र ? प्रश्न अनुत्तरित छ ।
हो, राजाको शासनकालमा उनीविरुद्ध बोल्दा जेल जानु पर्दथ्यो । त्यही अवस्था अहिले पनि भोग्नुपर्ने हो भने यो संविधानलाई कसरी उन्नत मान्ने ? प्रश्न स्वाभाविक रूपमा उब्जिएको छ ।





