शिक्षामन्त्रीको आरोप: राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार फेर्न खोजियो



काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन खोजिएको दाबी गरेकी छन् ।

बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् ।

“आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब,” उनले लेखकी छन् ।

बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने क्रममा ओलीले गुणस्तरीय शिक्षकको अभाव रहेको बताएका थिए ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार