काठमाडौं । नयाँ वर्ष अर्थात २०८० सालको पात्रो आएको छ। २०८० मा हिन्दुहरुले मनाउने प्रायः सबै चाडपर्व १५ दिन पछाडि सरेका छन् । नयाँ सालको दसैं कात्तिकमा परेको छ भने तीजको व्रत असोजमा सरेको छ । आगामी हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ मै मनाइएको थियो ।
त्यसैगरी २०८० सालको घटस्थापना असोज अन्तिम, अर्थात् असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ । जबकि, २०७९ सालमा असोज १० गते नै घटस्थापना मनाइएको थियो भने फूलपाती असोज १६ र विजयादशमी असोज १९ मा मनाइएको थियो ।
नयाँ वर्षको तिहार पनि करिब १५ दिन पछाडि धकेलिएको छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको थियो । तर, नयाँ वर्षको भाइटीका कात्तिक २९ गते परेको छ । यस वर्ष कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने २० दिनपछि अर्थात् मंसिर ३ गते मनाउनुपर्ने भएको छ ।
साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन् । असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको छ ।
यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ ।





