दुई दशकमा पनि बनेन कान्ति लोकपथ



काठमाडौं । राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति लोकपथ निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ ।

सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र अझै पनि बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी रहेको योजनाका प्रमुख सुरेश न्यौपानेले बताए।

उनले ललितपुरतर्फ १० किमी सडकमध्ये सात किमी चालु आर्थिक वर्षमा पूरा हुने बताए। उनले भने, “दुवै जिल्लाको बाँकी खण्डमा पनि यही वर्ष ठेक्कामा जान तयारी गरिएको छ ।”

अहिले काल्चे, भड्डेडाँडा, छपेली बजार आसपासमा कालोपत्र भइरहेको छ । तीनपानेमा ठाउँठाउँमा गरी पहिले अस्थिर रहेको ठाउँमा एक किमी सडक कालोपत्र गर्न बाँकी रहेको प्रमुख न्यौपानेले बताए।

ललितपुरतर्फ तीन किमी कडा चट्टान छ भने आठ सय मिटरमा ठाउँठाउँमा पहिरो छ । चालु आवमा ललितपुरतर्फको सात किमी सडक सम्पन्न भएमा झण्डै साढे छ किमी सडक निर्माण बाँकी हुने योजनाले जनाएको छ ।

ललितपुरमा तीन किमी र मकवानपुुरमा साढे तीन किमी बाँकी छ । यो खण्डमा बहुवर्षीय ठेक्कामा जान स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसँग रु ६६ करोड माग गरिएको छ । बजेट स्वीकृति भएपछि काम भएको बाँकी खण्डमा काम अगाडि बढ्नेछ ।

विगतका वर्षमा वर्षाको समय पहिरोका कारण अवरुद्ध भइरहने खण्डमा विभागले अहिले अध्ययन गरिरहेको प्रमुख न्यौपानेले बताए। विभागको ‘जिओ इन्भाएरोमेन्ट युनिट’ले मकवानपुरमा काम गरिरहेको र त्यो काम सकाएपछि ललितपुरतर्फको बाँकी काम गर्ने उनले बताए।

“कस्तो संरचना निर्माण गर्ने भन्ने अध्ययनको प्रतिवेदन आउने क्रममा छ, आएपछि काम गर्न सकिनेछ,” उनले भने। अहिले योजनाले माग गरेको बजेट र प्रतिवेदन आएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ । चालु आवभित्रमा ठेक्कामा जान सके अर्को दुई आवमा निर्माण सकिने गरी योजना बनाइएको छ ।

चट्टान फुटाउन विस्फोट (ब्लास्टिङ) चाहिने भएकाले काठमाडौँ–तराई दु्रतमार्ग आयोनामा कार्यरत नेपाली सेनासँग कुराकानी भइरहेको आयोजनाले जानकारी दिएको छ । हाल सो आयोजनाले समेत आवश्यक सामग्री कान्ति लोकपथको प्रयोग गरेर ढुवानी गरिरहेको छ । सेनाले पनि यसका लागि सहयोग गर्न सकिने बताएको छ ।

पहिले लोकपथ हेटौँडाबाट टिकाभैरब, चापागाउँ हुँदै सातदोबाटोसम्म हुने गरी रेखाङ्कन भएको थियो । चापागाउँ–सातदोबाटो सडक विस्तार हुन नसकेपछि यसको रेखाङ्कन परिवर्तन गरेर टिकाभैरबबाट भैँसेपाटी हुँदै नख्खु पुग्ने भएको छ । टिकाभैरबबाट हेटौँडाको बुद्धचोकसम्म ७९ किमी सडक योजनाले निर्माण गरिरहेको छ ।

काठमाडौँ उपत्यकाभित्र पर्ने टिकाभैरबबाट नख्खु चोकसम्म सडक काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गरिरहेको छ । झण्डै ९० किमी लम्बाईको लोकपथ सबैतिर दुई लेनको हुनेछ । अहिले एक लेन रहेको पुलसमेत विस्तार गरिने योजनाको तयारी अघि बढाएको छ ।

चालु ठेक्कामा ललितपुरतर्फ बिरुवा एसएल सुनकोसी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सन गरी दुई निर्माण कम्पनी कार्यरत छन् भने मकवानपुरमा नागार्जुन सर्वशक्तिले निर्माणको काम गरिरहेको छ । मकवानपुरतर्फ ८० प्रतिशत प्रगति रहेको र बाँकी काम चैतसम्ममा सप्म्पन्न हुने प्रमुख न्यौपानेले जानकारी दिए।

सरकारले विसं २०६९ मा योजना स्थापना गरेर आव २०७१र७२ देखि बहुवर्षीय ठेक्का लागू गरी काम सुरु गरेको थियो । सरकारले योजनालाई हाल पहिलो प्राथमिकताको योजना (पि वान)मा राखेको छ ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार