काठमाडाैं । निर्वाचन सम्पन्न भएसँगै बागमती प्रदेशमा सरकार निर्माणको जोडघटाउ सुरु भएको छ । सरकार निर्माणको लागि दलहरु जोडघटाउमा व्यस्त हुँदै गर्दा प्रदेशसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई भने आन्तरिक व्यवस्थापननै चुनौती हुने देखिएको छ ।
मुख्यमन्त्रीमा संस्थापनबाटै २ जनाको दावी परेपछि कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य समेत विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये कांग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ १२ सिट रहेको छ ।
कांग्रेसको ३७ सदस्यीय संसदीय दलमा कांग्रेसको संस्थापन पक्षको बहुमत देखिन्छ भने संस्थापन इतर पक्षका सांसद कम रहेका छन् । संस्थापन पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह निकट सांसदहरु रहेका छन् ।
बागमती प्रदेशसभा सदस्यहरुमा कांग्रेस नेता शेखर कोइराला पक्षका कोही देखिँदैनन् । यद्यपी शेखर टिमका कांग्रेस महामन्त्री गगन थापा निकटका केही सांसद्हरु रहेका छन् । प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी शेखर–गगन पक्षमा थोरै मात्र सांसद रहेका छन् । संस्थापन पक्षमा नै दुई धार देखिँदा इतर टीमले निर्णायक भूमिका खेल्ने देखिन्छ ।
संसदीय दलको नेता बन्ने दौडमा रहेका दुवै नेताहरुलाई आ–आफ्नो भुगोलका केन्द्रीयस्तरका नेताहरुको सहयोग भने रहने देखिँदैन । बानियाँलाई मकवानपुरको भूगोलबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रुचाएकी छैनन् ।
यता लामालाई पनि आफ्नो भुगोलले समर्थन गर्ने देखिँदैन । नुवाकोटबाट केन्द्रीय नेता अर्जुननरसिंह केसी लगायताका नेता लामालाई रोक्न चाहन्छन् । तर, लामालाई कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बनाउन कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतको उच्च जोडबल छ । सहमहामन्त्री डिना पनि उनकै पक्षमा खुलेकी छिन् । सहमहामन्त्री डिना र प्रवक्ता डा. महत कुनै पनि अवस्थामा लामालाई दलको नेता बनाउने र मुख्यमन्त्रीमा अगाडि सार्ने अडानमा छन् । उनीहरु दुवै बानियाँको खिलाफमा देखिएका छन् ।
डिना बानियाँले आफूलाई चुनाव हराएको आरोप लगाउँदै मुख्यमन्त्री बन्न नदिन तीव्र लबिङमा रहेको बताइन्छ । डिना मकवानपुर–१ बाट प्रतिनिधिसभामा पराजित बनेकी थिइन् ।
यता आफ्नो पक्षमा माहोल बनाउन निर्वाचनपछि बानियाँ पनि काठमाडौंमा नै छन् । पार्टीभित्रको आन्तरिक समीकरणले बानियाँलाई संस्थापन इतर समूहका सांसदहरुको समर्थन रहनसक्ने कतिपयको भनाइ छ ।
निर्वाचनको समयमा बानियाँले १० जना प्रदेश सदस्यहरुलाई टिकट वितरण गरेका थिए । उनीहरु मध्ये अधिकांशले निर्वाचन जितेका छन् । यता पहिलो कार्यकालका केही सांसदहरु पनि दोहोरिएर निर्वाचित भएका छन् । उनहरूको साथ बानियाँले पाउने सम्भावना छ ।
संस्थापन पक्षबाटै दुई जना संसदीय दलको नेताको दौडमा रहेपछि बागमतीमा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।





