ओलीलाई भीम रावलको जवाफ- १० बुँदे सहमति एकतारे होइन, ११ तारे विगुल हो



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अब १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको बताएपछि त्यसको जवाफमा रावलले यस्तो बताएका हुन् ।

ओलीले भने ‘अब यो १० बुँदेको एकतारे बजाइरहनु आवश्यक छैन। एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौँ न खुरुक्क। अब कति बजाउने १० बुँदे ?’ त्यसको जवाफ दिँदै रावलले ट्वीट गरे– ‘१० बुँदे सहमति एकतारे होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नुअघि पार्टी एकता कायम राख्न भन्दै १० बुँदे सहमति गरिएको थियो । तर, नेता नेपालले पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन्।

नेता नेपाललाई छाडेर ओलीसँग एमालेमै फर्केका उपाध्यक्ष रावललगायत नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । अध्यक्ष ओली भने त्यसमा सकारात्मक देखिएका छैनन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार