
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको बताएका छन् । सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रतिनिधिसभालाई दलभित्रको कचिंगलको बन्धक बनाउन नहुने भएकाले विघटन गरेको बताए । उनले विगतका सबै तीता पीरा कुरा बिर्सेर निर्वाचनमा सघाउन पार्टीपंक्तिलाई आग्रह गरे।
निर्वाचनले पार्टी एकतालाई बलियो बनाउने ओलीको तर्क छ। ‘पार्टीमा केपी ओलीको केही योगदान छैन भन्नेहरूलाई लोकप्रियताको मापन गर्ने अवसर सिर्जना भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा पुग्ने नेतालाई पनि अवसर छ।’ चुनाव लोकतन्त्रको उन्नत अभ्यास भएको भन्दै उनले सरकारले काम गर्न नसके पुनरावेदन गर्न जाने ठाउँ निर्वाचन भएको बताए। कुनै पनि कुरामा नअल्मलिकन निर्वाचनमा केन्द्रित हुन उनले सबैलाई अनुरोध गरे।
प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार