ओलीले आफूनिकट सांसदलाई भने- प्रचण्ड उपाध्यक्षसरहका मान्छे हुन्, मलाई कारबाही गर्ने आधार छैन



सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने बताएका थिए। भेलामा सहभागी सांसद महेश बस्नेतका अनुसार सम्बोधनका क्रममा ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने बताए। ‘ऊ बेला प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको हो। त्यो भनेको उपाध्यक्षसरहको हो। अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै बस्नेतले भने,‘त्यही भएर उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन।’

आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले भने आफूले पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने आजको भेलामा बताएका छन्। उनले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने उल्लेख गरे।‘यो त विश्व राजनीतिमै दुर्लभ घटना हुने भयो,’ ओलीले भने,‘यस्तो कुरा कसैले पत्याउनु पर्‍यो नि!’

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार