पदीय भागबन्डामा नेकपाको रडाको !



काठमाडौं, २० कार्तिक । पाँच वर्ष सरकारको नेतृत्व गर्ने जनअभिमत पाएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो चर्किंदै गएको छ । विचार र सिद्धान्तभन्दा पनि पछिल्लो पदीय लडाइँ र भागबन्डामा कुरा मिल्न नसक्दा विवाद थप चर्किएको हो । सत्तारूढ दल नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । तर प्रधानमन्त्री ओलीले भने सरकारको काममा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै आउनुभएको छ । नेकपाभित्र दुई समूहको विवादले कार्यकर्तामा मात्र नभई नागरिकमा समेत अन्योल सृजना गरेको छ । पार्टीभित्रको आन्तरिक किचलोले गर्दा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने कामसमेत ओझेलमा परेको छ ।

गत असारबाट शुरु भएको आन्तरिक किचलो दुई महिनापछि अर्थात् भदौ अन्तिममा आएर सहमतिमा टुंगो लागेको थियो । तर सहमतिको मसी सुक्न नपाउँदै प्रधानमन्त्री ओलीले राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, भारतीय ‘रअ’का प्रमुखसँगको भेट, कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, पर्सा घटनालगायतको विषयप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएपछि विवाद थप सतहमा आएको छ ।

कर्णाली प्रदेशको विवाद चुलिएपछि ओली–प्रचण्डको भेटसमेत पातलिएको छ । प्रधानमन्त्रीले भेटवार्ताका लागि बारम्बार आग्रह गरेपछि केही दिनअघि ओली–प्रचण्डबीच बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीच चर्काचर्की भएपछि अहिले संवादसमेत टुटेको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार