मन्त्री नआएपछि सांसद खतिवडा र उपसभामुख रानाबीच संसदमा घोचपेच



प्रतिनिधि सभामा प्रि-बजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र उपसभामुख इन्दिरा रानामगरबीच भनाभन भएको छ।

बजेटको छलफलमा सहभागी भएका खतिवडाले संसदमा अर्थमन्त्रीलाई उपस्थित गराउन आग्रह गरे।

‘प्रतिनिधि सभा नियमावीअनुसार सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य छ। बरू केहीबेर कुर्छु तर मन्त्रीलाई उपस्थित गराउनुस्। यो परम्परा २०७० को संविधानसभामा सम्बन्धित मन्त्री उपस्थित नहुँदा मन्त्री उपस्थित भएपछि बैठक चलाउने परम्परा छ,’ सांसद खतिवडाले भनिन्।

त्यसपछि उपसभामुख रानाले अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभामा जबाफ दिने कार्यक्रम प्रारम्भ भएकाले त्यहाँ गएको र केहीबेरमा आउने बताइन्।

‘तपाईं आफ्नो भनाइ राख्दै गर्नुस् मन्त्रीज्यू आउँदै हुनुहुन्छ,’ उपसभामुख रानाले भनिन्।

सांसद खतिवडाले मन्त्रीलाई कुन बेला राष्ट्रिय सभा र कुन बेला प्रतिनिधि सभामा पठाउने भनेर मिलाउने काम सचिवालयको भएको बताए।

‘प्रतिनिधि सभामा छलफल भइरहेको बेला त्यसलाई आलोपालो बनाउन सक्छौं। अहिले मन्त्रीको उपस्थिति चाहियो,’ सांसद खतिवडाले भने।

त्यसपछि उपसभामुख रानाले ‘अब पर्खि बस्नै नै हो ?’ भनी सोधिन्।

‘ठीक छ सभामुख महोदय रातिसम्म पर्खिनुहुन्छ भने हामी पनि पर्खिन्छौं,’ त्यसपछि सांसद खतिवडाले भने। सांसद खतिवडाले प्रतिनिधि सभा नियमावलीले नै मन्त्रीको उपस्थिति अनिवार्य गरेको बताए।

खतिवडालाई आफ्नो भनाई राख्दै गर्न आग्रह उपसभामुखले आग्रह गरिन्। सांसद खतिवडाले ‘पर्खिन्छु’ भने।

‘हुन्छ, पर्खिनुहुन्छ भने खाजाको पनि व्यवस्था गरौंला,’ उपसभामुख रानाले भनिन्।

त्यसपछि खतिवडाले त्यसका लागि आफू पनि तयार रहेको बताए। ‘सभामुख अलिकता भोकाएको जस्तो लाग्यो त्यसको व्यवस्था गर्न हामी पनि तयार छौं। बरू संसद कोषबाट नै निर्माण गर्नुपर्छ भनेपनि तयार छौं,’ खतिवडाले भने।

त्यसपछि अर्थमन्त्री पुन संसद प्रवेश गरेलगत्तै उपसभामुखले आफ्नो भनाइ राख्न भनेपछि सांसद खतिवडा विषयमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार