श्री डिस्टिलरीको आईपीओ प्रस्ताव सर्वसम्मत पारित, खुद नाफा ९३७ प्रतिशतले वृद्धि



काठमाडौं । श्री डिस्टिलरी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। कम्पनीका अध्यक्ष ज्ञानेन्द्र खनालको सभापतित्वमा सोमबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनसहित प्रस्तुत सबै प्रस्ताव पारित गरेको हो।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष खनालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीसहितको लेखापरीक्षण प्रतिवेदन छलफल गरी स्वीकृत गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। प्रबन्ध सञ्चालकको सेवा–सुविधा अनुमोदन र सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित भएका छन्।

खुद नाफा ९३७ प्रतिशतले बढ्यो

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा श्री डिस्टिलरीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ९३७ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा ८ लाख ५८ हजार ७६१ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा ८९ लाख ५ हजार ४८० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको सञ्चालन नाफा पनि ३०८ प्रतिशतले बढेर २ करोड ८१ लाख ४१ हजार १३ रुपैयाँ पुगेको छ।

यसैगरी, कम्पनीको कुल आम्दानी २७ प्रतिशतले वृद्धि भई ७२ करोड ८४ लाख ९३ हजार ९०८ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५७ करोड २२ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खुद आम्दानी ३२ प्रतिशतले बढेर ३१ करोड ५ लाख ६५ हजार ९९५ रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ११ प्रतिशतले वृद्धि भई ७६ करोड ५ लाख ८५ हजार ५७७ रुपैयाँ कायम भएको छ।
वित्तीय विवरणमा देखिएको नाफा तथा आम्दानीको वृद्धिले कम्पनीको व्यावसायिक गतिविधिमा भएको विस्तारलाई संकेत गरेको छ।

१३५ वितरकममार्फत देशभर बजार विस्तार

श्री डिस्टिलरीले देशभर १३५ वितरकमार्फत आफ्ना उत्पादनको बिक्री–वितरण गर्दै आएको छ। कम्पनीको कुल बिक्रीमा बागमती, मधेश र गण्डकी प्रदेशको उल्लेख्य योगदान रहेको छ।
उपलब्ध विवरणअनुसार बागमती प्रदेशमा ४४ वितरकममार्फत २२ करोड १४ लाख ८८ हजार ५३९ रुपैयाँ, मधेश प्रदेशमा ३७ वितरकममार्फत २० करोड ५९ लाख २० हजार ८०६ रुपैयाँ र गण्डकी प्रदेशमा नौ वितरकममार्फत १८ करोड ८२ लाख ४२ हजार ५४ रुपैयाँ बराबरको बिक्री भएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा २४ वितरकममार्फत ७ करोड ४९ लाख ४४ हजार १०० रुपैयाँ, कोशी प्रदेशमा १३ वितरकममार्फत २ करोड ३७ लाख ५० हजार २३६ रुपैयाँ तथा सुदूरपश्चिम प्रदेशमा आठ वितरकममार्फत १ करोड ४१ लाख ४८ हजार १७३ रुपैयाँ बराबरको बिक्री भएको विवरणमा उल्लेख छ।

आईपीओमार्फत पुँजी बजारमा प्रवेश गर्ने तयारी

पाँचौँ वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित भएसँगै श्री डिस्टिलरीलाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। यद्यपि, वास्तविक निष्कासनका लागि आवश्यक नियामकीय प्रक्रिया तथा स्वीकृति पूरा हुनुपर्नेछ।
आईपीओ निष्कासनले कम्पनीलाई थप पुँजी जुटाउने अवसर प्रदान गर्न सक्छ। त्यसबाट व्यवसाय विस्तार, उत्पादन क्षमता अभिवृद्धि तथा दीर्घकालीन व्यावसायिक योजनालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।

कम्पनीले उत्पादन सुविधाको आधुनिकीकरण तथा स्वचालित बोटलिङ प्रविधिको प्रयोगमार्फत उत्पादन क्षमता विस्तार गर्ने योजनासमेत अघि सारेको छ। उपलब्ध विवरणअनुसार कम्पनीको उत्पादन प्रणालीबाट मासिक एक लाख केसभन्दा बढी उत्पादन गर्न सकिने क्षमता रहेको उल्लेख छ।
काठमाडौं महानगरपालिका–११, बबरमहलमा केन्द्रीय कार्यालय रहेको श्री डिस्टिलरी लिमिटेडले नाफा तथा आम्दानीमा वृद्धि, देशव्यापी वितरण सञ्जालको विस्तार र आईपीओ निष्कासनको तयारीलाई एकसाथ अघि बढाएको छ। साधारण सभाबाट पारित निर्णयसँगै कम्पनीको आगामी व्यावसायिक योजना र पुँजी बजारमा प्रवेश गर्ने तयारीले थप गति लिने देखिएको छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार