जनसचेतन सहकारीको ३३औँ वार्षिक साधारण सभा सम्पन्न, शेयर पूँजी १६ करोड ९१ लाख पुर्‍याउने लक्ष्य



दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका–५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले असोज २१ गतेदेखि असोज ३० गतेसम्म विभिन्न सेवा केन्द्र तथा क्षेत्रमा एकाइगत साधारण सभा सञ्चालन गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण, वित्तीय लक्ष्य तथा भावी नीति र योजनासम्बन्धी प्रस्तावहरू प्रस्तुत गरी पारित गरिएको छ।
संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि शेयर पूँजी १६ करोड ९१ लाख ३२ हजार ५०० रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। त्यसैगरी, जगेडा तथा अन्य कोषमा २४ करोड ८१ लाख १८ हजार २८२ रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ।

सहकारीले २०८४ असार मसान्तसम्म बचत निक्षेप एक अर्ब ९५ करोड ३८ लाख ४९ हजार ४११ रुपैयाँ पुर्‍याउने लक्ष्यसमेत तय गरेको छ। उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै कुल ऋण लगानी दुई अर्ब १५ करोड ९७ लाख २५० रुपैयाँ ६६ पैसा पुर्‍याउने लक्ष्य राखिएको छ।
१ करोड ८६ लाख ६५ हजार रुपैयाँ सञ्चालन बचतको अनुमान
संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल अनुमानित आम्दानी २२ करोड ६२ लाख ५१ हजार ८२९ रुपैयाँ २ पैसा र कुल अनुमानित खर्च २० करोड ७५ लाख ८६ हजार ६७२ रुपैयाँ २५ पैसा हुने प्रक्षेपण गरेको छ। उक्त आम्दानी र खर्चका आधारमा संस्थाले एक करोड ८६ लाख ६५ हजार १५६ रुपैयाँ ७७ पैसा सञ्चालन बचत हुने अनुमान गरेको छ।

ऋण असुली र जोखिम व्यवस्थापनमा जोड

सभाले भाखा नाघेका ऋणको असुली प्रक्रियालाई प्रभावकारी बनाउने तथा वित्तीय जोखिम न्यूनीकरण गर्ने नीतिलाई प्राथमिकता दिएको छ। ऋण असुलीका लागि आवश्यकताअनुसार सार्वजनिक सूचना प्रकाशन, धितो लिलामी तथा ऋणीलाई कर्जा सूचना केन्द्रमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ। आवश्यकताअनुसार कर्जा असुली न्यायाधिकरणको सहयोग लिई ऋण व्यवस्थापनलाई थप व्यवस्थित बनाउने नीति पनि संस्थाले अघि सारेको छ।

त्यसैगरी, सहकारी ऐन, नियमावली तथा सम्बन्धित नियामक निकायका मापदण्डअनुसार पूँजी पर्याप्तता र जोखिम व्यवस्थापनका व्यवस्था पूरा गरेपछि मात्र शेयर सदस्यलाई लाभांश वितरण गर्ने नीति लिइएको छ। नियमित बचत तथा असल कारोबार गर्ने सदस्यलाई नियमानुसार संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गर्ने योजना पनि संस्थाले बनाएको छ।

सेवा विस्तारसँगै सञ्चालन खर्च घटाउने योजना

संस्थाले निष्क्रिय सदस्यको सदस्यता व्यवस्थापन, सेवा तथा सङ्कलन केन्द्रहरूको आवश्यकताअनुसार एकीकरण र घुम्ती काउन्टर सञ्चालनमार्फत सञ्चालन खर्च घटाउने तथा व्यवस्थापनलाई चुस्त बनाउने नीति लिएको छ।

वि.सं. २०५० मा स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारीमा ३४ हजार ३४७ भन्दा बढी शेयर सदस्य आबद्ध रहेको जनाइएको छ। संस्थाले १७ वटा सेवा कार्यालयमार्फत सदस्यलाई प्रविधियुक्त, गुणस्तरीय तथा प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले सहकारी क्षेत्रको वित्तीय सुशासन र संस्थागत गुणस्तरसम्बन्धी ‘एक्सेस सिल्भर’ (ACCESS SILVER) ब्रान्डसमेत प्राप्त गरेको छ।
संस्थाका अध्यक्ष श्रेष्ठले सहकारीलाई थप पारदर्शी, प्रविधिमैत्री र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको विकासमा योगदान पुर्‍याउने शेयर सदस्य, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार