काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सन् २०१८ मा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना भएको निफ्रा नेपालकै पहिलो तथा एकमात्र पूर्वाधार विकासमा केन्द्रित बैंक हो। बैंकले देशमा ठूला, दीर्घकालीन तथा दिगो पूर्वाधार परियोजनाको विकासका लागि निजी क्षेत्रको सहभागिता प्रोत्साहन गर्ने र दीर्घकालीन पुँजी परिचालन गर्ने उद्देश्य राखेको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा बैंकको आर्थिक कार्यसम्पादनमाथि छलफल गरिएको थियो। साथै, लेखापरीक्षक नियुक्ति, सञ्चालकहरूको नियुक्ति तथा कार्यकालसम्बन्धी विषयमा पनि छलफल गरी आवश्यक निर्णय गरिएको जनाइएको छ।
निफ्राले ऊर्जा, यातायात, सूचना प्रविधि, स्वास्थ्य सेवा तथा पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्दै आएको छ। यी क्षेत्र नेपालको आर्थिक वृद्धि र दिगो विकासका लागि महत्त्वपूर्ण मानिन्छन्।
नेपालमा पूर्वाधार विकासलाई तीव्रता दिन र आर्थिक रूपान्तरणलाई सुदृढ बनाउन दीर्घकालीन लगानी परिचालन आवश्यक रहेको अवस्थामा निफ्राले रणनीतिक महत्त्वका पूर्वाधार परियोजनामा वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्य राखेको छ।
बैंकको आठौँ साधारणसभाले वित्तीय उपलब्धिको समीक्षा गर्नुका साथै संस्थागत सुशासन र सेयरधनीसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा निर्णय गरेको छ।












