सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहित बैंकका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। जसअनुसार ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेको छ। सो पूँजीको ४ प्रतिशतका दरले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण हुनेछ। त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गरिनेछ।

यसअनुसार बैंकले करिब ३९ करोड ३० लाख रुपैयाँ बराबरको कुल लाभांश वितरण गर्नेछ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।

नयाँ सञ्चालक समिति निर्विरोध चयन

साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ। संस्थापक सेयरधनी समूहबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा सञ्चालकमा चयन भएका छन्।

त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई अध्यक्षमा चयन गरेको छ।

नयाँ सञ्चालक समितिले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, सेवा विस्तार तथा वित्तीय स्थायित्वलाई प्राथमिकतामा राख्दै बैंकलाई थप सबल बनाउने जनाएको छ।

मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई अधिकार

सभाले बैंकको रणनीतिक विस्तारका लागि मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ। उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने निर्णय भएको हो।

यससँगै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट हुने परिवर्तनअनुसार प्रक्रिया अघि बढाउने तथा ड्यु डिलिजेन्स अडिट (DDA) र समझदारीपत्र (MOU) सम्बन्धी कार्य अघि बढाउने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

वित्तीय विवरण पारित

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षित वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका प्रतिवेदनहरू पारित गरेको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारणसभाबाट अनुमोदन भएको छ।
सांग्रिला डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक हो। बैंकको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ भने यसको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘SADBL’ संकेतमा कारोबार हुँदै आएको छ।

बैंकका अनुसार हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम सञ्चालनमा छन्। बैंकले शाखा सञ्जालसँगै डिजिटल तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै ग्राहकको पहुँच र सेवा सुविधालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
आगामी दिनमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा प्रविधिमैत्री बैंकिङ सेवामा सुधार गर्दै प्रतिस्पर्धात्मक वित्तीय बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार