काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष माधव राज आचार्यको अध्यक्षतामा बिहीबार काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एण्ड इभेन्टमा सभा सम्पन्न भएको हो।
सभामा कम्पनीका सञ्चालक, व्यवस्थापन पक्ष, सेयरधनी, नियमनकारी निकायका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण छलफल गरी पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट भएका निर्णय तथा काम–कारबाहीलाई पनि सभाले अनुमोदन गरेको छ।
सभाले कम्पनीलाई अन्य कम्पनी वा आयोजनामा लगानी गर्न सक्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ।
७.५ मेगावाटको आयोजनाबाट नियमित आम्दानी
सभामा कम्पनीका अध्यक्ष आचार्यले लमजुङको क्व्होलासोथार गाउँपालिकामा निर्माण सम्पन्न ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत् आयोजनाको प्रगति तथा वित्तीय अवस्थाबारे जानकारी गराएका थिए।
आयोजनाले २०८१ वैशाख ६ गतेदेखि अर्थात् १८ अप्रिल २०२४ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो। आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री हुँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोजनाबाट १६ करोड ९९ लाख २३ हजार ६०६ रुपैयाँ बराबरको विद्युत् बिक्री बिलिङ भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो बिलिङ १३ करोड २६ लाख ४२ हजार २७ रुपैयाँ रहेको थियो।
कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। त्यसमा संस्थापक सेयरधनीको ८० करोड रुपैयाँ र सर्वसाधारण सेयरधनीको २० करोड रुपैयाँ लगानी रहेको छ।
आयोजनाका लागि कुमारी बैंकको अगुवाइमा साङ्ग्रिला डेभलपमेन्ट बैंकको सहभागितामा कर्जा सुविधा व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ।
संस्थापक तथा स्थानीय सेयरको लक–इन अवधि कायम
कम्पनीका अनुसार सामूहिक लगानी कोषतर्फको ५० हजार कित्ता सेयरको लक–इन अवधि २०८३ साउन २६ गते समाप्त भइसकेको छ। तर संस्थापक, स्थानीय तथा कर्मचारीतर्फको सेयरको लक–इन अवधि भने २०८५ माघ २७ गतेसम्म कायम रहनेछ।
साधारणसभामा कम्पनीको आगामी कार्यदिशा, आयोजना सञ्चालनको अवस्था तथा वित्तीय गतिविधिबारे समेत छलफल भएको जनाइएको छ।













