गोरक्ष हाइड्रोपावरको विशेष साधारण सभा सम्पन्न, आइपीओ निष्कासनको बाटो खुल्यो



काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष लालप्रसाद सावा लिम्बुको अध्यक्षतामा सोमबार सम्पन्न सभाले कम्पनीको पूँजी वृद्धि तथा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

आयोजनाको निर्माण कार्यलाई थप गति दिने उद्देश्यले कम्पनीको अधिकृत तथा जारी पूँजी रु. १ अर्ब ८० करोडबाट वृद्धि गरी रु. २ अर्ब २० करोड पुर्‍याउने प्रस्ताव सभाले अनुमोदन गरेको छ।

त्यस्तै, हाल संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारण समूहको २० प्रतिशत रहेको शेयर संरचनामा परिवर्तन गरी संस्थापकतर्फ ७५ प्रतिशत र सर्वसाधारणतर्फ २५ प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गरिएको छ।
कम्पनीले कायम हुने २५ प्रतिशत शेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी १५ प्रतिशत सर्वसाधारणका लागि निष्कासन गर्ने योजना अघि सारेको छ। सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, २ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारी तथा कामदार र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइने जानकारी सभामा दिइएको थियो।
आइपीओ निष्कासनसँग सम्बन्धित आवश्यक प्रक्रिया अघि बढाउन तथा सम्बन्धित निकायसँग आवश्यक परामर्श गर्न सञ्चालक समितिलाई सभाले पूर्ण अख्तियारीसमेत प्रदान गरेको छ।

यसैबीच, धादिङ जिल्लास्थित आँखुखोलाको पानी उपयोग गरी विद्युत उत्पादन गर्ने २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको अध्यक्ष लिम्बुले जानकारी दिए।

उनका अनुसार आयोजनाको कुल ३ हजार ५९० मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार ४३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। आयोजनाको हेडवक्सतर्फको समग्र भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ।
आयोजनाका लागि हालसम्म रु. ११५ करोड दीर्घकालीन कर्जा ड्रडाउन भइसकेको जानकारी पनि सभामा दिइएको थियो।

सभामा शेयरधनीहरूले आयोजना, कम्पनीको वित्तीय अवस्था तथा आइपीओ निष्कासनलगायत विषयमा उठाएका जिज्ञासाको जवाफ अध्यक्ष लिम्बुसहित सञ्चालक सदस्य बालकृष्ण शिवाकोटी र प्रबन्ध सञ्चालक रघुनाथ पुरीले दिएका थिए।

त्यसैगरी, कम्पनीका सीईओ प्रकाश भण्डारीले वृत्तचित्रमार्फत आयोजनाको हालसम्मको प्रगति तथा निर्माण गतिविधिबारे जानकारी गराएका थिए। विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै विशेष साधारण सभा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार