काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुशील कुमार अर्यालको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त, सञ्चालक समितिका पदाधिकारी, नियमनकारी निकायका प्रतिनिधि, सेयरधनी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ।
त्यसैगरी, सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ। उक्त लाभांश रकम रु. १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा रहेको छ, जसमा कर प्रयोजनसमेत समावेश छ।
निक्षेप र कर्जा दुवैमा वृद्धि
सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा फाइनान्सको कुल निक्षेप रु. २२ अर्ब ७४ करोड पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.०४ प्रतिशत वृद्धि हो।
यस्तै, कुल कर्जा प्रवाह रु. १९ अर्ब ३३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.१४ प्रतिशतले बढी हो। फाइनान्सको कुल वासलातको आकार रु. २६ अर्ब २२ करोड पुगेको छ।
संस्थाले निष्क्रिय कर्जा (एनपीएल) समेत घटाउन सफल भएको जनाएको छ। अघिल्लो वर्ष १.८४ प्रतिशत रहेको एनपीएल घटेर आर्थिक वर्ष २०८२/८३ मा १.५५ प्रतिशत कायम भएको छ।
फाइनान्सले उक्त आर्थिक वर्षमा रु. २६ करोड ५७ लाख खुद मुनाफा आर्जन गरेको छ। यो निर्धारित वार्षिक लक्ष्यको १०९.८४ प्रतिशत हो।
२१ शाखामार्फत सेवा
आईसीएफसी फाइनान्सले हाल चारवटा प्रदेशमा रहेका २१ शाखामार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक तथा डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
सभामा अध्यक्ष सुशील कुमार अर्यालले विश्वव्यापी आर्थिक अनिश्चितता, भू–राजनीतिक तनाव, आन्तरिक आर्थिक शिथिलता तथा तरलताको दबाबजस्ता चुनौतीबीच पनि संस्थाले दोहोरो अंकको नगद लाभांश वितरण गर्न सफल भएको बताए।
डिजिटल सेवा र सुशासनमा जोड
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले संस्थाले वित्तीय नाफासँगै संस्थागत सुशासन, शून्य सहनशीलताको नीति तथा ग्राहकमैत्री प्रविधिको विकासलाई प्राथमिकता दिँदै आएको बताए।
फाइनान्सले भिडियो केवाईसी (V-KYC), राष्ट्रिय परिचयपत्र (NID) आबद्धता, मोबाइल तथा इन्टरनेट बैंकिङ र कार्ड सेवाजस्ता डिजिटल सुविधालाई थप स्वचालित तथा सुदृढ बनाउँदै आएको जनाएको छ।
साथै, संस्थाले खुद मुनाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जलविद्युत्, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्यम (SME) र विपन्न वर्गको आर्थिक उत्थानका क्षेत्रमा परिचालन गर्दै आएको जनाएको छ।
लेखा परीक्षक पुनः नियुक्त
साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि एस.ए.आर. एसोसिएट्स (चार्टर्ड एकाउन्टेन्ट्स) लाई बाह्य लेखा परीक्षकमा पुनः नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
त्यस्तै, सञ्चालकको सेवा सुविधा थप गर्ने तथा सोहीअनुसार संस्थाको नियमावलीको नियम २९(ख) मा संशोधन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ।
नियमनकारी निकायबाट प्राप्त हुने कुनै फेरबदल वा सुझावलाई संस्थाको नियमावली संशोधनमा समावेश गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।












