काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
साधारण सभाले सर्वसाधारण शेयरधनी समूहबाट महेश घिमिरे र तेज बहादुर चन्दलाई सञ्चालकमा निर्वाचित गरेको छ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको २२औँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ।
निक्षेप र कर्जा लगानीमा वृद्धि
सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकको कुल निक्षेप अघिल्लो वर्षको तुलनामा १०.८४ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ४९ अर्ब ९३ करोड पुगेको छ। त्यस्तै, बैंकको खुद कर्जा लगानी ११.१९ प्रतिशतले बढेर रु. २ खर्ब ३ अर्ब ९९ करोड पुगेको जनाएको छ।
प्रभावकारी कर्जा असुली तथा व्यवस्थापनका कारण बैंकको खुद मुनाफामा समेत ३८.०१ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। बैंकले निष्क्रिय कर्जालाई नियन्त्रणमा राख्दै जोखिम व्यवस्थापन, संस्थागत सुशासन र ग्राहक सेवामा सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।
डिजिटल सेवा र सामाजिक उत्तरदायित्वमा जोड
बैंकले आगामी दिनमा डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने रणनीति अघि सारेको छ। साथै, जलविद्युत् तथा विपन्न वर्ग लक्षित क्षेत्रमा लगानी विस्तार गर्ने योजना बैंकले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बाढी प्रभावित रसुवा र नुवाकोटका पीडितलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड २५ लाख जम्मा गरेको जानकारी सभामा गराइएको थियो।
लाभांश बढाउन शेयरधनीको आग्रह
सभामा सहभागी शेयरधनीहरूले बैंकको वित्तीय प्रदर्शन तथा लाभांश वितरणप्रति व्यवस्थापन र सञ्चालक समितिलाई धन्यवाद दिएका थिए। आगामी आर्थिक वर्षमा बैंकले अझ राम्रो वित्तीय प्रदर्शन गर्दै दोहोरो अंकमा लाभांश वितरण गर्न सक्ने अवस्था बनाउन शेयरधनीहरूले व्यवस्थापनलाई आग्रह गरेका छन्।
अध्यक्ष पौडेलले चुस्त व्यवस्थापन, संस्थागत सुशासन र प्रभावकारी ग्राहक सेवामार्फत बैंकलाई आगामी दिनमा थप सबल तथा प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।












