काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा भदौ ३१ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा सभा सम्पन्न भएको हो।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै, अग्राधिकार शेयरधनीका लागि अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण प्रस्ताव गरेको थियो।
बैंकको ४ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा साधारण शेयरधनीलाई प्रस्ताव गरिएको १५ प्रतिशत नगद लाभांशको रकम करसहित करिब ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ हुने विवरण यसअघि सार्वजनिक गरिएको थियो।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक एन.बी.एस.एम. एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
साधारणसभामा शेयरधनीहरूले बैंकको वित्तीय अवस्था, लाभांश वितरण तथा आगामी व्यावसायिक योजनालगायत विषयमा राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।
शेयरधनीका जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो, सबल र प्रतिस्पर्धी बनाउँदै लैजान बैंक प्रतिबद्ध रहेको बताए।
कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा बोनस शेयर र नगद लाभांशसहित कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०८२/८३ का लागि भने बैंकले साधारण शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।
बैंकले आफ्नो वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू आधिकारिक वेबसाइटमार्फत समेत सार्वजनिक गर्दै आएको छ।






