तलब, भत्ता र शिक्षा ऐनको माग गर्दै शिक्षक महासंघ आन्दोलनमा जाने



काठमाडौँ। नेपाल शिक्षक महासंघले आफ्ना विभिन्न शैक्षिक तथा पेसागत मागहरू पूरा गराउन आगामी भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ। साउन १६ र १७ गते काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकका १५ बुँदे निर्णयहरू शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै महासंघले आन्दोलनको तयारी अघि बढाएको जानकारी दिएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनको ठोस मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यदलीय बैठकलाई प्रत्यायोजित गरिएको छ। महासंघले विगतका सहमति कार्यान्वयन, गुणस्तरीय विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, बालविकास शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकलाई तलब वृद्धि तथा पोसाक/महङ्गी भत्ता उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ।

चालु आर्थिक वर्षको बजेटमा बालविकास शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदान शिक्षकलाई वृद्धि भएको तलब भत्ता नदिइएकामा महासंघले विरोध जनाएको छ। साथै, मन्त्रिपरिषद्ले निर्णय गरिसकेको दुर्गम भत्ता सबै शिक्षकहरूलाई उपलब्ध गराउन र राहत, बालविकास, साविक उमावि, करार तथा प्राविधिक धारका शिक्षकहरूको पेसागत सुरक्षा र स्थायित्वको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

यसैगरी महासंघले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति र खाजा रकम वृद्धि गर्न, खानेपानी तथा विद्युत् महसुल छुट दिन र शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न आग्रह गरेको छ। शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार महासंघको संशोधित विधान पारित गरी शिक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता प्रक्रिया अघि बढाउने निर्णय पनि परिषद्ले गरेको छ।

यस्तै, महासंघले सुनसरीको कप्तानगञ्जबाट सुरु भई मधेशका जिल्लाहरूमा फैलिएको साम्प्रदायिक हिंसाप्रति चिन्ता व्यक्त गर्दै शान्ति बहाली र पीडितलाई क्षतिपूर्तिको माग गरेको छ। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहितका आरोहीहरूप्रति महासंघले शोक व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार