नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा पहिलो पटक सार्वजनिक हुँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’



काठमाडौं । नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले विश्व बजारमा हालै सार्वजनिक गरिएको नयाँ प्रिमियम एसयूभी ‘अल–न्यु निसान टेकटन (Nissan TEKTON)’ लाई नेपालमा पहिलो पटक ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मार्फत सार्वजनिक गर्ने भएको छ। एक्स्पो आगामी भदौ २७ देखि ३२ गते, २०८३ (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

विश्व बजारमा जुलाई ९, २०२६ मा सार्वजनिक भएको टेकटन निसानको नयाँ पुस्ताको प्रिमियम एसयूभी हो। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र उत्कृष्ट कार्यसम्पादनको संयोजनले यसले नेपाली अटोमोबाइल बजारमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

निसानको प्रतिष्ठित पेट्रोल मोडेलबाट प्रेरित टेकटनले कम्पनीको ७५ वर्षभन्दा लामो एसयूभी परम्परालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। आकर्षक बडी डिजाइन, मस्कुलर लुक, ‘सी’ आकारका एलईडी हेडलाइट तथा प्रभावशाली रोड प्रेजेन्सका कारण यो एसयूभीले सहजै सबैको ध्यान आकर्षित गर्ने कम्पनीको दाबी छ।

टेकटनमा १०० प्रतिशत टर्बोचार्ज्ड Turbo T160 इन्जिन जडान गरिएको छ, जसले शक्तिशाली प्रदर्शनसँगै उत्कृष्ट इन्धन दक्षता प्रदान गर्ने बताइएको छ। फराकिलो केबिन, पर्याप्त बुट स्पेस तथा दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज बनाउने सुविधाले यसलाई पारिवारिक तथा साहसिक यात्राका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ।

सुरक्षाका दृष्टिले पनि टेकटन अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ। यसमा ६ वटा एयरब्याग, उच्च क्षमतायुक्त स्टिल बडी स्ट्रक्चर, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ, ३६० डिग्री क्यामेरा तथा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जस्ता प्रविधि समावेश गरिएका छन्। साथै, ‘गुगल बिल्ट–इन’ प्रविधिमार्फत गुगल म्याप्स, गुगल असिस्टेन्ट लगायतका स्मार्ट कनेक्टिभिटी सुविधाले यात्रालाई थप सहज र आधुनिक बनाउने कम्पनीले जनाएको छ।

एक्स्पो अवधिभर निसानको स्टलमा आगन्तुकहरूले नयाँ टेकटनलाई प्रत्यक्ष अवलोकन गर्न, यसको विशेषता तथा प्रविधिबारे जानकारी लिन तथा कम्पनीका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।
नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले देशभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत निसानका सवारीसाधनसँगै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार