ईसीडी शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास (ईसीडी) शिक्षिका नन्दा कुमारी शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार शाहीले बालविकास शिक्षिकाको पदमा नियुक्ति प्राप्त गर्न भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट माध्यमिक तह उत्तीर्ण गरेको देखिने नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्ने उजुरीपछि विस्तृत अनुसन्धान गरिएको थियो।

अनुसन्धानबाट उनले २०६६ मंसिर ३ गते बालविकास शिक्षिकाको रूपमा नियुक्ति लिने क्रममा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको र त्यसकै आधारमा सरकारी सेवा प्रवेश गरी तलब, भत्ता तथा अन्य सरकारी सुविधा लिएको पुष्टि भएको आयोगको दाबी छ।

अख्तियारले यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गतको कसुर भएको उल्लेख गर्दै सोही ऐनबमोजिम कैद र जरिवानाको सजाय मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

यस प्रकरणमा दोषी वा निर्दोष भन्ने विषयमा अन्तिम फैसला विशेष अदालतबाट हुने आयोगले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार